दीपेन्द्र रावललाई पराजित गर्दै प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठनमा पहिलो पटक भएको निर्वाचनमा गिरीले दीपेन्द्र रावललाई पराजित गरेका हुन् ।

प्रेस सेन्टरको इतिहासमा पहिलो पटक नेतृत्त्व चयन निर्वाचन प्रक्रियाबाट भएको हो ।

गिरीले ३६६ मत प्राप्त गर्दा रावलले १७५ मत मात्र पाए ।

वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । उनले सुदिप बर्देवालाई २८६ मतको फराकिलो अन्तरले हराए । अधिकारीले ३९७ मत प्राप्त गरेका थिए भने बर्देवाले १११ मत पाए ।

उपाध्यक्ष पदहरूमा पाँच जना निर्विरोध निर्वाचित भए । खुला कोटामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, महिला उपाध्यक्षमा शान्ता अधिकारी र समावेशी कोटाको उपाध्यक्षमा दीपक श्रेष्ठ निर्विरोध चयन भए ।

महासचिवमा मनोज घर्तीमगरले दीपेन्द्र शर्मामाथि २३१ मतको अन्तरले विजयी भए । घर्तीमगरले ३७९ मत प्राप्त गरेका थिए भने शर्माले १४८ मत पाए ।

उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल जम्मा ९ मतको अन्तरले बोमलाल गिरीलाई हराउँदै निर्वाचित भए । अन्य उपमहासचिव पदहरूमा महिला कोटाबाट लक्ष्मी आचार्य, दलित कोटाबाट हरिश विक, मधेशी कोटाबाट अनिल मिश्र र आदिवासी जनजाति कोटाबाट बुद्ध लोप्चन निर्विरोध निर्वाचित भए ।

सचिवहरूमा खुला कोटाबाट सुरेन्द्र चालिसे र सन्तोष देउजा, महिला कोटाबाट अञ्ली थापा र समावेशी कोटाबाट अवतार राई निर्वाचित भए । प्रदेश अनुसारका सचिवहरूमा प्रदेश १ बाट दीपेन्द्रकुमार राई, मधेशबाट सुनिता बराल, बागमतीबाट मीनकुमार दाहाल, गण्डकीबाट दीपक भट्टराई, लुम्बिनीबाट मानसिंह विक, कर्णालीबाट गाणेशकञ्चन भारती र सुदूरपश्चिमबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भए । यसका साथै उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एसोसियट प्रदेशबाट नन्दलाल तिवारी पनि निर्विरोध चयन भए ।

कोषाध्यक्षमा वसन्त गिरीले डा. डक्टप्रसाद धिताललाई १४८ मतको अन्तरले पराजित गरे । गिरीले ३३५ मत प्राप्त गरेका थिए भने धितालले १८७ मत पाए ।

प्रेस सेन्टरको २९ जना पदाधिकारीमध्ये १२ पदमा प्रतिस्पर्धा भएको थियो भने १७ जना निर्विरोध निर्वाचित भए ।

SHARE