बागमतीको रोमाञ्चक जित, पोखरालाई ५–४ ले पराजित

काठमाडौं स्थित शहीद स्मारक एन्फा महिला लिगमा बागमती युथ क्लब ले आरएस पोखरा माथि ५–४ को रोमाञ्चक जित निकालेको छ।

च्यासल रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पोखरा पराजित भयो। खेलको सातौं मिनेटमा गीता श्रेष्ठ ले गोल गर्दै पोखरालाई अग्रता दिलाइन् भने नवौं मिनेटमा अस्मिता मगर ले बराबरी फर्काइन्।

दोस्रो हाफमा ४८औं मिनेटमा तुलसी कुमारी ओली ले गोल गर्दै पोखरालाई पुनः अघि बढाइन्। तर ५२औं मिनेटमा प्रजिता राई ले बराबरी गोल गरिन्। त्यसपछि ६०औं मिनेटमा दिक्षा रन्पाल ले गोल गर्दै बागमतीलाई पहिलोपटक अग्रता दिलाइन्।

६८औं मिनेटमा वर्षा कुवर ले बराबरी गोल फर्काएपछि खेल झन् रोमाञ्चक बन्यो। तर ७०औं मिनेटमा अस्मिता र ७६औं मिनेटमा दिक्षाले थप गोल गर्दै बागमतीलाई बलियो अवस्थामा पुर्‍याए। ८३औं मिनेटमा गीताले पेनाल्टीमार्फत गोल फर्काए पनि त्यसपछि थप गोल हुन सकेन।

दुई गोल गरेकी अस्मिता प्लेयर अफ द म्याच घोषित भइन्। प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेल नेपाल पुलिस क्लबचर्च ब्वाइज युनाइटेड बीच दिउँसो ३ बजे हुनेछ।