रुपन्देही । सरकारले लुम्बिनी विकास कोषको रिक्त सदस्य सचिव पदमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–९, मणिग्राम निवासी ३६ वर्षीय पाण्डेयलाई सदस्य सचिवमा नियुक्त गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा विज्ञ इन्जिनियरका रूपमा उहाँको सचिवालयमा काम गरेका पाण्डेय पछिल्लो समय भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालका प्रमुख सल्लाहकार हुनुहुन्थ्यो। प्राविधिक तथा संरचनागत इन्जिनियरिङ र सहरी व्यवस्थापनमा अनुभव हासिल गर्नुभएका पाण्डेयले अब लुम्बिनी विकास कोषको प्रशासनिक तथा विकाससम्बन्धी जिम्मेवारी सम्हाल्नुहुनेछ।
नवनियुक्त सदस्य सचिव पाण्डेयले लुम्बिनीको वृहत्तर विकास र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि आफ्नो प्राथमिकता हुने बताउनुभएको छ। ‘लुम्बिनीलाई हामीले नजिकबाट चिनेर पनि चाहेजति प्रचारप्रसार र विकास गर्न सकेका छैनौँ। अब लुम्बिनीको वृहत्तर विकासमा लाग्नुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘सबै क्षेत्रको सहयोग र सल्लाह लिएर विश्वासका साथ लुम्बिनी चिनाउन पहल गर्नेछौँ।’
लुम्बिनी विकास कोषको उपाध्यक्षमा केही दिनअघि गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा नियुक्त हुनुभएको थियो।
पाण्डेयले काठमाडौंको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट संरचनागत इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ। उहाँले काठमाडौं महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरिसक्नुभएको छ।
स्थानीय तहमा कार्यरत रहँदा उहाँले भवन निर्माण संहिता, संरचनागत सुरक्षा, अग्ला भवनको प्राविधिक परीक्षण तथा विद्युतीय भवन निर्माण अनुमति प्रणालीको कार्यान्वयन र सुधारमा योगदान गर्नुभएको थियो। सार्वजनिक भवन तथा पूर्वाधारको प्राविधिक गुणस्तर सुनिश्चित गर्ने र स्थानीय तहका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा समेत उहाँको अनुभव छ।
व्यावसायिक क्षेत्रमा विभिन्न पैदलयात्री पुलको संरचनागत डिजाइन तथा विश्लेषण, कोहलपुरको हावाहुरी तथा भूकम्प प्रतिरोधी दृश्यावलोकन स्तम्भ र सार्वजनिक पूर्वाधारका संरचनाको डिजाइनमा उहाँले काम गर्नुभएको छ। नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा सक्रिय सहभागिता जनाएबापत संरचनागत इन्जिनियरिङ संस्था नेपालले सन् २०२४ मा उहाँलाई प्रशंसापत्रसमेत प्रदान गरेको थियो। संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय विकास केन्द्रअन्तर्गत स्मार्ट सिटीसम्बन्धी अन्तर्राष्ट्रिय तालिममा पनि उहाँ सहभागी हुनुभएको थियो।
लुम्बिनी विकास कोषको जिम्मेवारी भौतिक संरचना निर्माणमा मात्र सीमित छैन। गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, विकास र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्नु कोषको प्रमुख दायित्व हो।
अधुरो लुम्बिनी गुरुयोजना कार्यान्वयन, पुरातात्त्विक सम्पदाको वैज्ञानिक संरक्षण, व्यवस्थित पर्यटन व्यवस्थापन र अन्तर्राष्ट्रिय बौद्ध समुदायसँगको सम्बन्ध विस्तार कोषका प्रमुख चुनौतीका रूपमा रहेका छन्। नयाँ नेतृत्वसामु यी चुनौती सम्बोधन गर्दै लुम्बिनीको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्वलाई विश्वमाझ स्थापित गर्ने जिम्मेवारीसमेत रहेको छ।









