काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संसद सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ। दर्ता प्रक्रिया सकिएलगत्तै दिउँसो साढे २ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ।
निर्वाचन भने चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमार्फत हुनेछ। सो बैठकमा सभामुख चयनका लागि प्रस्तावकले प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन जनाउने कार्यसूची रहेको छ। उम्मेदवारीसम्बन्धी सूचनामाथि सामूहिक छलफल सम्पन्न भएपछि निर्णयार्थ प्रस्ताव पेश गरिनेछ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि आफ्नो उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई अघि सारेको छ। बिहीबार बसेको पार्टी बैठकले अर्याललाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रतिनिधि सभामा रास्वपाको बहुमत सिट रहेकाले अर्याल सभामुख बन्ने सम्भावना बलियो देखिएको छ।
हाल सभामुख पद रिक्त रहेका कारण प्रतिनिधि सभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले गर्दै आएका छन्।
सभामुख चयनपछि चैत २३ गते राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन हुने तालिका तय गरिएको छ। त्यसका लागि चैत २२ गते नै मनोनयन दर्ता गरिनेछ। यसअघि उपाध्यक्ष रहेकी विमला घिमिरेको कार्यकाल २० फागुनमा समाप्त भएसँगै उक्त पद हाल रिक्त रहेको छ।









