काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्। उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार अमेरिकामा अध्ययनरत एक युवतीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक वर्षअघि लम्सालले आफूमाथि बलात्कार गरेको आरोप सार्वजनिक गरेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।
उक्त आरोप सार्वजनिक भएसँगै लम्साल संलग्न चलचित्र ‘पाँच पाण्डव’बाट पनि निष्कासित भएका छन्। फिल्म निर्माण कम्पनी कालारानी फिल्म्स प्रालिले शुक्रबारै विज्ञप्ति जारी गर्दै उनलाई नैतिकताका आधारमा हटाइएको जनाएको छ।
‘आरोपित लम्साल हाम्रो चलचित्र ‘पाँच पाण्डव’को एक चरित्रमा आबद्ध भएकाले पीडित युवतीले जघन्य अपराधको आरोप लगाएपछि आपतकालीन बैठक बसी उनलाई निष्कासन गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ।
निर्माण पक्षका अनुसार फिल्ममा लम्सालको करिब ९० प्रतिशत छायांकन सम्पन्न भइसकेको थियो। तथापि, अब उनी फिल्मको कुनै पनि हिस्सामा रहने छैनन् र उनले अभिनय गरेका दृश्यहरू पनि प्रयोग नगरिने स्पष्ट पारिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।









