कांग्रेसको निष्कर्ष- गठबन्धन तोड्न ‘प्रचण्डले बनाएका कथा’ मा अल्झन हुन्न

नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोड्न बनाएका बहानामा नअलमलिने निष्कर्ष निकालेको छ।बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा सोमबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीले गठबन्धन तोड्न विभिन्न बहाना अगाडि ल्याएकोले त्यसमा पार्टी अल्झन नहुने निष्कर्ष निकालेको हो।

कांग्रेसले प्रधानमन्त्री दाहाललाई ०७९ पुस २६ गतेको निर्णयअनुसार दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको वर्तमान सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ।

’प्रधानमन्त्री प्रचण्डले अन्तिम समयसम्म पनि गठबन्धनमा कुनै समस्या छैन भनिरहेको महत बताउँछन्।साथै कांग्रेसले ०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचनमार्फत् मतदाताले दिएको म्याण्डेडप्रति प्रतिबद्ध रहिआएको पनि बताएको छ।तर त्यो म्याण्डेडलाई प्रधानमन्त्री दाहालले कुठाराघात गरेको कांग्रेसको भनाइ छ।

‘उहाँ (दाहाल) दोस्रो पटक पनि अविश्वसनीय ढंगले अग्रसर हुनु भएपछि कांग्रेस सहमत रहन सक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन। संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै, क्रमशः सुधारोन्मुख अर्थतन्त्रमा गति प्रदान गर्दै नागरिक पंक्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको छ,’ कांग्रेसको निर्णयमा उल्लेख छ।

साथै प्रधानमन्त्री दाहालको यो कदमले अन्यौल र अस्थिरतालाई बढावा दिएको कांग्रेसको निष्कर्ष छ। ‘कार्यसम्पादन समितिको बैठक यो घटनालाई गम्भीर ढंगले लिँदै संसदमा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय गर्दछ,’ कांग्रेसको निर्णय छ।

कांग्रेसका एक पदाधिकारीले गठबन्धन छाड्न प्रधानमन्त्रीले विभिन्न बहाना बनाएको आरोप लगाएका छन्।

‘गठबन्धन टुट्नुका पाँच बुँदे, छ बुँदे भन्दै प्रचण्डले जे-जे कुरा बाहिर ल्याइरहेका छन् ती सबै बहाना मात्रै हुन् भन्ने हाम्रो निष्कर्ष रह्यो। जति पनि कुरा प्रचण्डले गरेका छन् ती सबै सभापति देउवासँग बसेर टुंग्याउन सकिनै नै थिए तर उनले कुराकानी नै गरेनन्,’ उनले भने।

‘कुनै न कुनै विन्दुमा प्रचण्डले धोका दिन्थे-दिन्थे त्यसकारण अब उनका कुरामा अलमल गर्न हुन्न भन्ने हाम्रो निष्कर्ष हो। यो वा त्यो कारणले गठबन्धन टुट्यो भन्ने प्रचण्डहरूले बनाएको भास्यमा कांग्रेस अलमल गर्न हुन्न भन्नेमा सबै सहमत भयौं,’ ती पदाधिकारीले भने।

यसअघि अर्थमन्त्री रहेका महतले प्रधानमन्त्री दाहाललाई असहयोग गरेको, कांग्रेस महासमितिमा हिन्दु राज्यका पक्षमा एक हजार बढी सदस्यले हस्ताक्षर गरेको, गठबन्धनबारे ‘राख्नै नपर्ने कुरा पनि महासमितिका प्रतिवेदनमा राखेको’ जस्ता विषयले गठबन्धन टुटेको माओवादी नेताहरूले बताएका थिए।

‘यिनीहरूले हाम्रा बारेमा के भने भनेर हामी अलमल नगरौं। प्रचण्ड आलोपालो प्रधानमन्त्रीमा इमान्दार नभएर गठबन्धन छाडेर नयाँ बनाएका हुन्। यो सरकारको बारेमा धेरै लामो चिन्ता नगरौं, धेरै लामो कहीँ जाँदा पनि जाँदैन यो, यसले आफ्नो यात्रा तय नै गर्न सक्दैन,’ ती पदाधिकारीले थपे।प्रधानमन्त्री दाहालले ‘गठबन्धन छाड्न बनाएका कथा´मा अलमलिएर बस्न नहुने निष्कर्ष कांग्रेसले बनाएको ती पदाधिकारीले जानकारी दिए।

 

 

 

SHARE