टिचिङ अस्पतालमा पनि दुई दिन बिदा : शनिबार–आइतबार सार्वजनिक बिदा लागू

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेको छ। अब अस्पतालमा शनिबार र आइतबार बिदा रहनेछन्।

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चैत २३ गते सो निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही अनुसार शिक्षण अस्पतालले पनि नयाँ व्यवस्था लागू गरेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालद्वारा जारी सूचनाअनुसार शनिबार र आइतबार बाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

यद्यपि बिरामी सेवामा असर नपर्ने गरी ओपीडी तथा शल्यक्रिया सेवा भने शुक्रबार पूर्ण समय र अन्य दिनहरूमा पनि नियमित रूपमा सञ्चालन हुने अस्पतालले स्पष्ट पारेको छ।