काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन शाहसमक्ष सिफारिस गरेको छ।
सभापति लामिछानेले बिहीबार प्रधानमन्त्री शाहलाई पत्र पठाउँदै मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाएका हुन्। पार्टीको केन्द्रीय अनुसन्धान आयोगको अध्ययनअनुसार मन्त्री साहले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको स्वास्थ्य बिमा बोर्ड सदस्य पदमा नियमित गराएको देखिएको पत्रमा उल्लेख छ।
उक्त विषयलाई गम्भीर अनियमितता भन्दै रास्वपाले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न औपचारिक सिफारिस गरेको जनाएको छ।
त्यस्तै, घटनामा अपेक्षित गाम्भीर्यता नदेखिएको भन्दै स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराउन पनि सभापति लामिछानेले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्।
रास्वपाले यस प्रकरणलाई सुशासन र नैतिकताको सवालसँग जोड्दै आवश्यक कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।










