नेपालमा अपांगता भएकाहरूको जनसंख्या साढे ६ लाख

नेपालमा अपांगता भएकाहरूको जनसंख्या साढे ६ लाख रहेको छ।राष्ट्रिय तथ्यांक कार्यालय र राष्ट्रिय अपांग महासंघ मिलेर नेपालमा अपांगताको पहिलो पटक खण्डीकृत तथ्यांक प्रकाशन गरेका छन्।

यसअघिका जनगणनाले सार्वजनिक गरेको तथ्यांकभन्दा विस्तृत रूपमा प्रकाशन गरिएकोले यसबाट अपांगताको अध्ययन, अनुसन्धानका नयाँ विधाहरूलाई बाटो खुलाएको छ। यो तथ्यांकले संघीय, प्रदेश र स्थानीय सरकारलाई अपांगतामैत्री कार्यक्रम बनाउन समेत सहयोगी हुने तथ्यांक कार्यालयको भनाइ छ।कार्यालयको जनसंख्या शाखा प्रमुख ढुण्डिराज लामिछानेका अनुसार अपांगताको विषयमा जनगणना २०७८ ले संकलन गरेका सुक्ष्म तथ्यांकहरूलाई विष्लेषण गरेर प्रतिवेदनको रुपमा सार्वजनिक गरिएको छ।

‘यो प्रतिवेदनले नेपालमा अपांगताको अवस्था सम्पूर्ण तथ्य सार्वजनिक गरेको छ,’ लामिछाने भन्छन् ‘हाम्रो काम तथ्यांक सार्वजनिक गर्ने हो तर यसलाई उपयोग गर्ने काम सरकारका अरू निकायको हो। मलाई लाग्छ, तीनै तहका सरकार, तथा विभिन्न सामाजिक संस्थाहरुले अपांगताको तथ्यांक पाइएन भन्ने माग एक हदसम्म पूरा भएको छ।’सम्बन्धी प्रतिवेदनले कुल जनसंख्याको २.२ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपांगता भएको देखाएको छ।

त्यो भनेको ६ लाख ४७ हजार ७ सय ४४ हो। तथ्यांकअनुसार अपांगता भएको व्यक्तिको सबैभन्दा बढी बसोबास कर्णाली प्रदेशमा छ। यहाँ कुल अपांगता भएका परिवारको १२.१ प्रतिशत परिवार बसेका छन्।यसैगरी सुदुरपश्चिम प्रदेशमा कुल परिवारमध्ये १०.५ प्रतिशत परिवारमा अपांगता भएका व्यक्ति पाइएको छ। गण्डकी र लुम्बिनीमा क्रमश ९.४ र ९.१ प्रतिशत परिवारमा अपांगता भएका व्यक्ति छन्। कोशीमा ८.६ र मधेस तथा बागमतीमा क्रमश ६.९ र ६.८ प्रतिशत अपांगता भएका परिवारहरू रहेका छन्।

देशको कुल जनसंख्यामा २.२ प्रतिशत अपांगता भएका व्यक्ति भए पनि यो संख्या कर्णालीमा ठूलो छ। कर्णालीमा कुल जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ मा  ३.३ प्रतिशत अर्थात ५२ हजार ६ सय ४ जना व्यक्ति व्यक्तिहरु अपांगता भएका छन्।दोस्रोमा गण्डकी प्रदेशको कुल जनसंख्याको २.९ प्रतिशत व्यक्तिहरू अपांगता भएका छन्। सुदुरपश्चिममा कुल जनसंख्याको २.६ प्रतिशत अपांगता भएकाहरू छन्।

कोशी र लुम्बिनीमा कुल जनसंख्याको २.४ प्रतिशत अपांगता भएकाहरू छन्। मधेस प्रदेशमा सबैभन्दा कम अपांगता भएका व्यक्तिहरू देख्निछ। जहाँ कुल जनसंख्याको १.५ प्रतिशत मानिसहरू अपांगता भएका छन् ।

५० देखि ५४ वर्षको जनसंख्यामा ३.६ प्रतिशत,५५ देखि ५९ वर्ष उमेर समूहमा ४.२ प्रतिशत ६० देखि ६४ वर्षमा ५.३ प्रतिशत जनसंख्यामा अपांगता रहेको पाइएको छ। यस्तै ६५ देखि ६९ वर्षमा ६.२ प्रतिशत, ७० देखि ७४ वर्षमा ७.५ प्रतिशत अपांगता भएको जनसंख्या रहेको छ।

SHARE