यूएईसँग दुई टी–२०आई खेल्ने नेपालको तयारी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध दुई अन्तर्राष्ट्रिय टी–२० (टी–२०आई) खेल खेल्ने भएको छ। खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुवै टोलीबीच अप्रिल २० र २१ मा दुई खेल हुनेछन्। यी खेलहरू आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने त्रिदेशीय शृंखलाअघि तयारीका रूपमा खेलिन लागेका हुन्। उक्त शृंखला अप्रिल २५ देखि सुरु हुनेछ, जसमा नेपाल, ओमान र यूएई सहभागी हुनेछन्।

नेपाल र यूएईबीचको प्रतिस्पर्धालाई एसोसियट क्रिकेटको ‘एल क्लासिको’ का रूपमा समेत लिने गरिन्छ। यी दुई टोलीबीच पछिल्लोपटक टी–२० विश्वकप छनोटमा भेट भएको थियो।

यसैबीच, नेपालमा लिग २ को अर्को शृंखला पनि आयोजना हुने तय भएको छ। मे १२ देखि २२ सम्म हुने उक्त शृंखलामा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी हुनेछन्।

यस्तै, नेपालको ‘ए’ टोलीले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग ५० ओभरको खेलहरू खेल्ने कार्यक्रम तय भएको क्यानले जनाएको छ।