टाइमको १०० प्रभावशाली सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । नेपालको प्रधानमन्त्री बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। उक्त सूचीमा डोनाल्ड ट्रम्पसी चिनफिङ जस्ता विश्व नेताहरू पनि समावेश छन्। नेताहरूको श्रेणीमा विश्वभरका २५ जना व्यक्तित्वलाई स्थान दिइएको छ।

३५ वर्षीय शाह फागुन २१ मा सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री बनेका हुन्। टाइमले उनको उदयलाई विशेषगरी युवापुस्ताको व्यापक समर्थन र अघिल्लो वर्ष भएको जनआन्दोलनको प्रभावसँग जोडेर विश्लेषण गरेको छ।

टाइमका एडिटर-एट-लार्ज चार्ली क्याम्पबेल ले तयार पारेको प्रोफाइलमा शाहलाई युवाहरूले चाहेको राजनीतिक परिवर्तनको प्रतीकका रूपमा चित्रण गरिएको छ। परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनताको समर्थनले उनलाई राष्ट्रिय नेतृत्वसम्म पुर्‍याएको उल्लेख गरिएको छ।

राजनीतिमा प्रवेश गर्नुअघि हिप–हप कलाकारका रूपमा परिचित शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन पहल गरेका थिए। त्यही कार्यशैलीले उनलाई राष्ट्रिय स्तरमा लोकप्रिय बनाएको टाइमले जनाएको छ।

कडा र स्पष्ट अभिव्यक्तिका लागि परिचित शाहले भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउँदै आएका छन्। संगीत पृष्ठभूमिका कारण उनी युवामाझ अझ प्रभावशाली रहेको पनि उल्लेख गरिएको छ।

यद्यपि, स्थानीय तहमा हासिल गरेको सफलता राष्ट्रिय स्तरमा दोहोर्‍याउन सक्ने वा नसक्ने भन्ने प्रश्न अझै कायम रहेको टाइमको विश्लेषण छ। आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारजस्ता चुनौतीबीच उनको नेतृत्व कत्तिको प्रभावकारी हुन्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो केन्द्रित भएको छ।