२१ दिनपछि अस्पतालबाट डिस्चार्ज भए ओली

केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पताल बाट डिस्चार्ज भएका छन्। पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी भक्तपुरको गुण्डुस्थित निवासतर्फ गएको उनकाे सचिवालयले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। पक्राउपछि सोही दिन स्वास्थ्य जाँचका लागि उनलाई अस्पताल लगिएको थियो, जहाँ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएको थियो।

अस्पतालमै प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइए पनि उनकी पत्नी राधिका शाक्य ले सर्वोच्च अदालत मा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटपछि अदालतको परमादेशमार्फत ओली चैत २६ गते हिरासतमुक्त भएका थिए।

त्यसक्रममा प्रहरीले अस्पतालमै उनलाई पत्नी राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो। यद्यपि, सो दिन उनले अस्पतालबाट डिस्चार्ज लिएका थिएनन्।

यसअघि नै ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो, जसको शल्यक्रिया चैत ३० गते गरिएको थियो। शल्यक्रियापछि ६ दिन उपचारमा रहेपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको हो।