हलेसी तुवाचुङले ब्रान्डिङ गर्‍यो कोदोको तीनपाने, अब लेबलसहित बजारमा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रूपमा उत्पादन हुने कोदोको तीनपाने रक्सीलाई ब्रान्डिङ र लेबलिङ गरी औपचारिक रूपमा बजारमा ल्याएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन, परम्परागत सीपको संरक्षण तथा किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले तीनपाने रक्सीलाई नयाँ पहिचानसहित बजारमा पठाएको जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी आकर्षक प्याकेजिङ, ब्रान्डिङ र लेबलिङ गरिएको रक्सी अब व्यावसायिक रूपमा बिक्री–वितरण गरिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार कोदोमा आधारित परम्परागत तीनपानेलाई स्थानीय उत्पादनको रूपमा स्थापित गर्दै यसको बजार विस्तार गर्ने लक्ष्य राखिएको छ। यसबाट कोदो खेती गर्ने किसान, घरेलु उद्योग तथा स्थानीय उद्यमी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

स्थानीय तहले परम्परागत उत्पादनलाई आधुनिक बजारसँग जोड्ने प्रयासस्वरूप गुणस्तर, प्याकेजिङ र पहिचानमा विशेष ध्यान दिएको जनाएको छ। नगरपालिकाले आगामी दिनमा अन्य स्थानीय कृषि तथा खाद्य उत्पादनको समेत ब्रान्डिङ गर्दै बजार प्रवर्द्धन गर्ने योजना रहेको उल्लेख गरेको छ।