वीरगन्जमा भएको झडपमा : प्रहरीसहित ४३ जना घाइते

हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई  समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन्।

दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन्।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिए। ‘मेरो त दाहिने हातमा चोट लागेको छ,’ उनले भने, ‘मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन। अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ।’

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईँ समेत घाइते भएका छन् ।

पर्सा प्रहरी प्रमुख मिश्रले ढुङ्गा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ घाइते भएको जानकारी दिए।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिए।

‘अधिकांशको टाउको र छातीमा ढुङ्गा वा इँटाले लागेर घाइते हुनुभएको छ,’ उनले भने। सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले आफ्नो अस्पतालमा प्रहरी नायब उपरीक्षक सिंहसहित उपचार भएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय पर्साले तनावको अवस्थालाई मध्यनजर गर्दै शनिबार बेलुकादेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

SHARE