काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिकका साथै दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने भएको छ।
गाउँसभाको अधिवेशनबाट पारित वार्षिक नीति तथा कार्यक्रमसँगै उक्त योजनाका लागि बजेट सुनिश्चित गरिएको हो। गाउँपालिका अध्यक्ष दिनेश लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई पनि निःशुल्क दिवाखाजाको व्यवस्था गरिने उल्लेख छ। यसका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। हाल संघीय सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई मात्र दिवाखाजा उपलब्ध गराउँदै आएको छ।
महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा प्रिमियममा संघीय सरकारले व्यहोर्दै आएको ५० प्रतिशत रकममा गाउँपालिकाले थप ५० प्रतिशत योगदान गर्ने व्यवस्था पनि गरिएको छ। संघीय सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मात्रै सामाजिक सुरक्षा भत्ता र निःशुल्क स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउँदै आएको छ।
पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकतामा राख्दै गाउँपालिकाले तीनधारे झरना, ताराखसे लेक, भूमिचुली डाँडा र बाह्रवर्षे गोदावरी मेला लाग्ने चैत्य–पानी लेक क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि कार्यविधि बनाई समिति गठन गर्ने नीति लिएको छ। ती क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्ने तथा पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भगिनी सम्बन्ध विस्तार गर्ने योजना पनि अघि सारिएको छ।
गाउँसभाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। बजेटअनुसार आन्तरिक स्रोत र अन्तरिम मौज्दातबाट ५ करोड ८३ लाख ६५ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
राजस्व बाँडफाँटतर्फ स्थानीय राजस्वबाट ३ करोड ३० लाख, संघीय राजस्वबाट ९ करोड ८६ लाख ८९ हजार र प्रदेश राजस्वबाट ४ करोड ५ लाख ३१ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। त्यसैगरी संघीय सरकारबाट समानीकरण अनुदान १० करोड ४३ लाख, सशर्त अनुदान ३३ करोड २३ लाख, समपूरक अनुदान ३० लाख र विशेष अनुदान ७६ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। प्रदेश सरकारबाट समानीकरण अनुदान ९१ लाख ५९ हजार, सशर्त अनुदान १ करोड २७ लाख ९८ हजार, समपूरक अनुदान २ करोड ४५ लाख र विशेष अनुदान ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसैबीच, बाढीपहिरोबाट प्रभावित निजी आवासको पुनर्निर्माण तथा प्रबलीकरणका लागि गाउँपालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ। विगतका तथा सम्भावित प्राकृतिक विपद्बाट भएको क्षतिको व्यवस्थापन गर्दै सुरक्षित र समृद्ध पालिका निर्माण गर्ने प्रतिबद्धता नीति तथा कार्यक्रममा व्यक्त गरिएको छ।









