काठमाडौं । जापान अध्ययनका लागि नेपाली विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको प्यानेसिया फाउन्डेसनले आफ्नो १२औँ स्थापना दिवसका अवसरमा सोमबार नेपाल पुलिस क्लबमा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्यानेसिया फाउन्डेसनका म्यानेजर टिकाराम खड्काले सन् २०१४ मा एक जना विद्यार्थीबाट सुरु भएको संस्थाको यात्रा आज ४–५ सयभन्दा बढी विद्यार्थीसम्म विस्तार भएको बताए। जापानको तेस्रो ठूलो सहरबाट सुरु गरिएको सेवा अहिले जापानका महत्वपूर्ण सहरका उत्कृष्ट विश्वविद्यालयसम्म नेपाली विद्यार्थीलाई अध्ययनको अवसर दिलाउन सक्षम भएको उनको भनाइ थियो।
खड्काले प्यानेसियामार्फत अध्ययनका लागि जापान पुगेका धेरै विद्यार्थीले शैक्षिक तथा व्यावसायिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उनीहरूको सफलता नै संस्थाको सबैभन्दा ठूलो उपलब्धि भएको बताए।
उनले शैक्षिक परामर्श क्षेत्र सञ्चालन चुनौतीपूर्ण बन्दै गएको पनि बताए। विदेश अध्ययनका लागि विद्यार्थी र अभिभावकले ठूलो लगानी गर्ने भएकाले अपेक्षित नतिजा समयमा नआउँदा गुनासा आउनु स्वाभाविक रहेको उनको भनाइ थियो। यद्यपि, संस्थाले गुणस्तरीय सेवा र विद्यार्थीको सफलतालाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए।
‘हामी प्रतिस्पर्धाभन्दा गुणस्तरमा विश्वास गर्छौं। विद्यार्थीले राम्रो अध्ययन गरे जापानमा अवसरको कुनै कमी छैन। त्यसका लागि भाषा, अनुशासन र मेहनत अत्यावश्यक हुन्छ,’ उनले भने।
उनका अनुसार आज जापानका विभिन्न सहर, रेस्टुरेन्ट, कम्पनी तथा अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिने नेपालीमध्ये धेरैले आफू प्यानेसियामार्फत अध्ययनका लागि आएको परिचय दिने अवस्था बनेको छ। यसले संस्थाको विश्वसनीयता र पहिचान स्थापित भएको उनको दाबी छ।
सरकारले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउन नियमन गर्नु आवश्यक भए पनि सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल नगरी ल्याइएका केही नीतिले विद्यार्थी र परामर्श संस्थालाई समस्या पारेको खड्काले बताए। विदेश अध्ययनलाई केवल विद्यार्थी बाहिरिने प्रक्रियाका रूपमा नभई दक्ष जनशक्ति निर्माणको अवसरका रूपमा हेर्नुपर्ने उनको धारणा थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूको क्षमता, उपलब्धि र जापानमा अध्ययन तथा रोजगारीका अवसरबारे जानकारी दिइएको थियो। विदेश अध्ययनका सम्बन्धमा समाजमा रहेका भ्रम चिर्न यस्ता कार्यक्रम उपयोगी हुने आयोजकको विश्वास छ।
कार्यक्रमको अन्त्यमा खड्काले जापानमा अध्ययन गर्ने सपना देखिरहेका देशभरका विद्यार्थीलाई गुणस्तरीय तयारी, भाषा र अनुशासनमा जोड दिँदै विश्वसनीय परामर्श संस्थाको साथ लिएर अघि बढ्न आग्रह गरे। विद्यार्थीको सपना पूरा गर्ने यात्रामा उनीहरूको परिवारसँग समेत जिम्मेवारीपूर्वक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्यानेसिया फाउन्डेसनसँग जोडिन सबैलाई आह्वान गरे।










