बेपत्ता जिरीवासीको खोजीका लागि नुवाकोट पुगे नगरप्रमुख जिरेल

दोलखा। भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका जिरी नगरपालिकाका नागरिकको खोजीका लागि नगरप्रमुख मित्रबहादुर जिरेल पीडित परिवारका सदस्यसहित नुवाकोट पुगेका छन्।

नगरप्रमुख जिरेल मंगलबार बिहान त्रिशूली पुगेका हुन्। उनले जिल्ला समन्वय समिति नुवाकोट तथा नेपाली सेनाको त्रिशूलीस्थित ब्यारेकमा पुगेर बाढीपछि बेपत्ता जिरीका नागरिकको विवरण बुझाएका छन्।

जिरेलले नुवाकोटका सांसद, जिल्ला समन्वय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई भेटेर बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।

नगरप्रमुखसँगै बाढीपछि सम्पर्कविहीन रहेका जिरी नगरपालिका–७ का प्रकाश तामाङ र वडा नम्बर ९ का बोसबहादुर तामाङका परिवारका सदस्यसमेत नुवाकोट पुगेका छन्।

‘बाढीमा बेपत्ता भएका नागरिकको खोजीका लागि पीडित परिवारका सदस्यसहित नुवाकोट आएका हौं,’ नगरप्रमुख जिरेलले भने, ‘खोजीका क्रममा रसुवाको धुन्चेसम्म पुग्नेछौं।’

भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा र नुवाकोट क्षेत्रमा पुगेका जिरीका सात जना नागरिक अझै बेपत्ता रहेको नगरपालिकाले जनाएको छ।

बेपत्ता हुनेमा जिरी–७ का प्रकाश तामाङ, विजय खत्री, भीमबहादुर तामाङ, पेम्बा घिसिङ, बोसबहादुर तामाङ, दानबहादुर तामाङ र तेजबहादुर जिरेल छन्।

यसअघि बाढीपछि सम्पर्कविहीन रहेका जिरीका दिलबहादुर जिरेल र काजु तामाङ भने उद्धार भइसकेका छन्।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोट क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीमा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन भएका छन्।

जिरीका नागरिकसमेत बाढी प्रभावित क्षेत्रमा पुगेपछि उनीहरू सम्पर्कविहीन भएका थिए। परिवारका सदस्यले खोजी तथा उद्धारका लागि स्थानीय तह र सम्बन्धित सुरक्षा निकायसँग आग्रह गर्दै आएका छन्।

बेपत्ता नागरिकको अवस्था पत्ता लगाउन नगरप्रमुख जिरेलले पीडित परिवारका सदस्यलाई समेत साथमा लिएर प्रभावित क्षेत्रमा पुग्ने र सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका छन्।