नेपाल तामाङ कलाकार संघको १९औँ साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल तामाङ कलाकार संघको १९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संघका अध्यक्ष विशाल काल्तानको अध्यक्षतामा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा सभा भएको हो।

सभामा नेपाली राष्ट्रिय गानका रचनाकार तथा स्रष्टा प्रदीपकुमार राई ‘ब्याकुल माइला’ प्रमुख अतिथिका रूपमा सहभागी थिए। नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष रामकृष्ण ब्लोन र संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी विशेष अतिथिका रूपमा सहभागी थिए।

सभामा संघका महासचिव खेम मोक्तानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै कोषाध्यक्ष बैरागी मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

वार्षिक साधारण सभामा संघका विगतका गतिविधि, संस्थागत प्रगति तथा आगामी कार्ययोजनाबारे छलफल भएको थियो। तामाङ कला, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै कलाकारको संस्थागत हितका विषयमा समेत छलफल गरिएको जनाइएको छ।

तामाङ मौलिक गीत–संगीत तथा सांस्कृतिक पहिचानको संरक्षण, नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन र कलाकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयलाई साधारण सभाले प्राथमिकतामा राखेको संघले जनाएको छ।