‘संस्कृतिलाई राजनीतिले अलग गरेको छ’

नयाँ दिल्ली : भौगोलिक समानता तथा सांस्कृतिक विविधता रहेको दक्षिण एसियाली मुलुकबीच कविताको माध्यमबाट अन्तरसंवाद गर्ने प्रयासस्वरूप भारतको राजधानी नयाँ दिल्लीमा पहिलो अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव आयोजना गरिएको छ । आइतबार साउथ एसियन युनिभर्सिटीका नेपाली विद्यार्थीको समूहले आयोजना गरेको एकदिने कविता महोत्सवमा साहित्यिको एक सशक्त विधा कविताको भूमिका तथा यसको प्रभावको विषयमा छलफल गरियो । नेपाल संगीत तथा नाट्य परिषद्का कुलपति सरुभक्तले भने, ‘यो महोत्सवले अन्तर्राष्ट्रियस्तरमा आफ्नो भाषा र साहित्य, कला र संस्कृतिलाई विस्तार गर्न हामी स्वतन्त्र छौं भन्ने सन्देश दिएको छ ।’

कार्यक्रममा दक्षिण एसियाको कवि कल्पनाका विषयमा भारतीय कवि अशोक बाजपेयी तथा नेपालका कवि तथा लेखक प्राध्यापक अभि सुवेदीबीच संवाद भएको थियो । नेपाल, भारत तथा समग्र दक्षिण एसियाली मुलुकमा कविताको उत्पत्ति, विकास तथा यसको विशेषताका विषयमा उनीहरूले संवाद गरेका थिए । प्राध्यापक सुवेदीले नेपाली कवितामा मोतीराम भट्टदेखि लक्ष्मीप्रसाद देवकोटालगायत मैथिली कवि विद्यापतिसम्मको योगदानको चर्चा गरे ।

कवि बाजपेयीले वाल्मीकिदेखि तुलसीदासलगायत हालसम्मको विकास क्रमका बारेमा चर्चा गरे । ‘दक्षिण एसियाली मुलुकको विविध सांस्कृतिक पृष्ठभूमिले यी मुलुकको पृथक् पहिचान बनेको छ’, बाजेपयीले भने, ‘यद्यपि यी मुलुकहरू संस्कृतिकै माध्यमबाट एकआपसमा जोडिएका पनि छन् । तर संस्कृतिलाई राजनीति र राज्यव्यस्थाले अलग गरेको छ ।’ साहित्यमा कविताको भूमिकाबारे स्पष्ट पार्दे भारतीय ललितकला एकेडेमीका पूर्वअध्यक्षसमेत रहेका बाजपेयीले कविताको भूमिका साहित्यमा सीमित तर अनिवार्य भएको विचार व्यक्त गरे ।

कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मानव र मानवीयताबीच भावनात्मक सम्बन्धको विकास गर्न कला, साहित्य तथा संगीत उत्तम माध्यम भएको बताए । सो अवसरमा युनिभर्सिटीकी अध्यक्ष कविता ए शर्माले नदीनाला, पहाड तथा समुद्रले जोडिएको यो क्षेत्रका मुलुकको सभ्यता, संस्कृति, जीवनयापन शैलीलगायतका विषयलाई अनुसन्धान गर्न सके क्रस बोर्डरको यथार्थ, इतिहास अनि सभ्यताको विकास क्रम बाहिर निकाल्न सकिने बताइन् ।

कार्यक्रममा कविता तथा स्वतन्त्रताको अवधारणाबीचको सम्बन्ध, कविता तथा राजनीतिबीचको संवाद सम्बन्ध, दक्षिण एसियाबाट उदाएको नारीवाद, चिलीका कवि पावलो नेरुदाको प्रेम तथा निराशाका कविताको दक्षिण एसियामा उपस्थितिलगायत नेपाल बाहिरको नेपाली कविता, सञ्चारमाध्यम र अध्यापनमा नेपाली साहित्य, नेपाली कविताको समसामयिक सन्दर्भलगायतमा छलफल गरिएको थियो । अन्तर्राष्ट्रिय जगत्मा नेपाली भाषाका साहित्य तथा कविताको पहुँचका लागि यसको स्तरीय अनुवादित संस्करणको खाँचोसमेत सहभागीहरूले औंल्याए ।

नेपाल र भारतीय नेपाली भाषीबीच भाषिक समानताका कारण नङ र मासुजस्तो सम्बन्ध रहेको भन्दै सिक्किमका कवि राजेन्द्र भण्डारी, आसामकी कवि दैवकी तिमल्सिना, दार्जिलिङका युवाकवि राजा पुनियानीले भारतीय नेपाली साहित्यलाई माथि उकास्न ढिलो भएको धारणा राखे । कार्यक्रममा सिक्किम, दार्जिलिङ, आसाम, देहरादूनका भारतीय मूलका नेपालीभाषी साहित्यकार तथा लेखकहरू पनि सहभागी थिए ।

SHARE