काठमाडौं – अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पर्वतारोहणको माध्यमबाट चिनाउँदै आएका सगरमाथा ११ पटक र के–टु हिमाल ७ पटक आरोहण गरिसकेका प्रख्यात पर्वतारोही सिद्दी बहादुर तामाङको आज गरिएको पत्रकार सम्मेलनमा निक्कै पीडादायी आवाज बाहिरिएको छ।
नेपालको हिमाललाई संसारमा चिनाउन, जोखिमपूर्ण आरोहणमार्फत देशको गौरव बढाउन निरन्तर योगदान पुर्याउँदै आएका तामाङले राज्य र सरकारको बेवास्ताले आफूजस्ता साहसी आरोहीहरू उपेक्षित बनेको गुनासो पत्रकार सम्मेलनमा राखेका छन।
तामाङ भने, “मैले सगरमाथा ११ पटक, के–टु ७ पटक र अन्य कठिन हिमालहरू आरोहण गरें। तर राज्यले कहिल्यै ‘यो तिम्रो योगदान हो’ भनेर चिनेको छैन।” जीवनको जोखिम मोल्दै आरोहण गर्ने नेपालीहरू आज पनि आधारभूत सुविधा र मान्यता विना पीडामा रहेको उनको गुनासो थियो। आरोहणकै क्रममा साथीहरू गुमाउनु परेको पीडा स्मरण गर्दै उनले भने, “हामीले मृत्यु देख्दै, जोखिम खेप्दै देशलाई चिनाउने काम गरेका छौं। तर घर फर्किँदा हामीलाई न त सुरक्षाको भर पर्छ, न त राज्यको सम्बोधन।”
नेपाल पर्वतारोहणको स्वर्ग मानिन्छ। हजारौं विदेशी आरोही यहाँ आउँछन्, जसको माध्यमबाट अरबौंको राजस्व सरकारले उठाउँछ। तर यी आरोहणलाई सम्भव बनाउन प्राणको बाजी राख्ने स्थानीय गाइड, शेर्पा र आरोहीहरू भने बेवास्तित हुने गरेको सन्देश तामाङको गुनासोले झल्काएको छ।
सिद्दी बहादुर तामाङको पत्रकार सम्मेलन केवल व्यक्तिगत पीडा मात्रै होइन, यो नेपालका सबै पर्वतारोहण पृष्ठभूमिबाट आएका साहसी श्रमिकहरूको आवाज हो।
राज्यले अब उपेक्षा होइन, मान्यता र सम्मानको बाटो रोज्नु जरुरी छ। पर्वतारोहण केवल पर्यटकीय आकर्षण मात्र होइन, नेपाललाई विश्वमा चिनाउने सांस्कृतिक पहिचान र राष्ट्रिय गौरव पनि हो भन्ने तथ्यलाई यस पत्रकार सम्मेलनले फेरि एकपटक स्मरण गराएको छ।
सिद्दी बहादुर तामाङ दोलखा जिल्लामा जन्मिएका, आर्थिक रूपमा सामान्य पृष्ठभूमिबाट आएका पर्वतारोही हुन्।