सानु वाइबाको ‘करुणा’को सगरमाथा चुचुरोमा लोकार्पण

गायिका सानु वाइवाको तेस्रो एल्वम करुणा विश्वको सर्वोच्च शिखर सगरमाथामा लोकार्पण गरिएको छ ।

सगरमाथा आरोही कान्छीमाया तामाङले आफ्नो सफल आरोहणसँगै करुणाको विमोचन सगरमाथाको चुचुरोमा गरेकी हुन् ।

तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गरेकी हुन् । सिन्धुपाल्चोककी तामाङले जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।

मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पुर्याउने उद्देश्यले आफू सगरमाथा चढेको तामाङले बताइन् । फर्किंदा आफ्नो ‘अक्सिजन सिलिन्डर’ चोरिएका कारण धेरै समस्या भए पनि आफ्नो टोलीका प्रमुख पेम्बादोर्जे शेर्पाको सहयोगका कारण सकुशल आउन सफल भएको उनले अनुभव सुनाइन् ।

आरोहणका क्रममा धेरैपटक अप्ठेरो परे पनि आफ्नो समुदाय र उद्देश्यलाई सार्थकता दिन ३२ दिनको यात्रापछि चुचुरोमा पुगी फर्किएर आएको उनले जानकारी दिइन् ।

गायिका सानुको करुणा एल्वममा दीपेन्द्र दोङ तामाङ,सुसन लामा र विश्व दोङको शब्दमा रहेका गीतहरु समावेश छन् ।

SHARE