तमु धिं नेपालले आफ्नो ३४ औं स्थापना दिवस शनिवार पोखरामा सम्पन्न

पोखरा, ६  जेठ

विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै तमु धिं नेपालले आफ्नो ३४ औं स्थापना दिवस शनिवार पोखरामा सम्पन्न गरेको छ ।

पोखरा ९ नयाँबजारस्थित आफ्नै सभाहलमा आयोजित कार्यक्रममा पुर्वसभासद डिलबहादुर नेपालीले तमु धिं नेपाल तथा विभिन्न समाजहरुलाई सहयोग तथा तमु समुदायका हकाधिकारका लागि विशेष आवाज बुलन्द, नापी सर्भेक्षक हुमबहादुर तमुले प्राविधीक सहयोग, तमु धिं नेपालका पुर्व व्यवस्थापन संयोजक पदमबहादुर तमुले संस्थागत व्यवस्थापनमा विशेष सहयोग, बाँझापाटन तमु समाजका संस्थापक अध्यक्ष क्याप्टेन नरबहादुर तमुलाई पोखरामा सबैभन्दा पहिला तमु समाज संस्थापन गरी नेतृत्व र बरालडाडा तमु समाजका पुर्व अध्यक्ष टंकबहादुर तमुलाई विशेष समाजसेवा वापत प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रहरी प्रमुख एसपी ओमबहादुर रानामगर, तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा, भाङ्ग्रासहित सम्मानपत्रले सम्मान गर्नुभएको हो।

उच्च शिक्षा हासिल गरी समाजसेवामा क्रियाशील डा.दीर्घमान तमुलाई २० हजार नगदसहित डा.हर्क,चन्द्र, प्राध्यापक सन्त अक्षयकोषबाट, आदिकवि स्वर्गीय हर्कबहादुर तमु अक्षयकोषबाट तमु साहित्यमा विशेष योगदान पुर्याउनु भएको मनाङका डिल्लीजंग तमु र तमु धिं नेपाल केन्द्रीय आमा समितिकी उपाध्यक्ष समाजसेवी पञ्चकुमारी तमुलाई जनही १५,१५ हजार नगदसहित सम्मानपत्र, भाङ्ग्रा, क्रमुसहित पुरस्कृत, तमु भाषा संरक्षणमा योगदान पुर्याएको भन्दै ले.थमबहादुर तमुलाई स्वर्गीय घनबहादुर लामिछाने तमु स्मृति अक्षयकोषबाट १० हजार नगदसहित र तमु संस्थामा रहेर संस्थागत विकासमा विशेष योगदान पुर्याए वापत तनहु तमु समाजका संस्थापक सचिव हर्कबहादुर तमु १० हजार नगदसहित कर्णेल तिर्थकुमारी तमु अक्षयकोषबाट पुरस्कृत हुनुभयो। पुरस्कृतहरुलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, विशेष अतिथि एसपी ओम राना मगरसहित अक्षयकोषदाताहरुका प्रतिनीधि हिरा तमु, रसकुमारी तमु, डा.दिर्घमान तमुले पुरस्कृत गर्नुभएको थियो ।

यसरी नै आकृति छात्रवृत्तिकोषबाट खिलाङ तमु समाजकी सिर्जना तमु र तनहुँ तमु समाजकी समिक्षा तमुलाई जनही १०, १० हजारसहित र जोगीमणी तमु समाजका दिनेश तमु यु.के. तम धिं अक्षयकोषबाट ५ हजार नगदसहित छात्रवृत्ति हस्तान्तरण गरिएको थियो। तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, आकृतिकी आमा टिकामाया तमु, तमु धिं युकेका नेपाल कोअर्डिनेटर मेजर लक्ष्मीप्रसाद तमुले वितरण गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गैरआवाशीय नेपालीलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार हुने गरी कानुन बनाउन आवाश्यक रहेको बताउनुभयो। तमु समुदाय तथा गोर्खा भुपू सैनिकहरुका परिवारका सदस्यले बाध्यतावश विदेशी नागरिकता लिनुपर्दा नेपालमा व्यवहारिक धेरै समस्या भोग्नु परेकाले गैरआवाशीय नेपालका लागि उक्त अधिकार आवाश्यक रहेको बताउनुभयो। उहाले भन्नुभयो भुपू सैनिकका कागजातमा भएका समस्या समाधान गर्न जिल्ला प्रसासन कार्यालयमा हेल्प डेक्सको व्यवस्था र निवेदन समेत लेख्नुनपर्ने गरी सेवाको व्यवस्था मिलाएको बताउनुभयो। नेपाल विविधताको मुलुक भएकाले सरल सेवा मार्फत राष्ट्रियतालाई सबल बनाउन आफु जुटेको भन्नुहुदै मौलिक सँस्कृतिले समुदायको साँस्कृतिक सबलीकरणका लागि आफुले जोड दिएको बताउनुभयो।

भरखरै कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरिक्षक ओमबहादुर रानामगरले तमु धिं नेपालको स्वागत सम्मान ग्रहण गर्नुहुदै समाजमा अराजकता मच्चाउने, तस्कर, गुण्डागर्दी, लागुऔषध ओसार पसार तथा प्रयोग कर्तालाई कडा कानुनी कारवाही गर्ने बताउनुभयो। सुन्दर समाज निर्माणका लागि सामाजिक दायित्व बहन गरिरहेका समाजसेवी पुर्व गोर्खा सैनिकहरुको बाहुल्यता रहेको तमु समुदायको योगदानको प्रसंसा गर्नुहुदै एसपी रानामगरले सभ्य, सुन्दर समाज निर्माणमा साथ सहयोग अपेक्षाका साथ तमु धिं नेपालसँग सहकार्य गर्ने बताउनुभयो।

सम्मानित पुर्व सभासद डिवी नेपालीले मुलुकमा जब जब बलियो सरकार बनेको भनिएकोछ विगतदेखि विभेद भोग्दै आएको समुदायको अधिकार कटौती गरिदै आएको बताउनुभयो।शासकहरुले तमुवानको पहिचान लुट्दै लग्यो, ल्होछार पर्व विदा कटौती गर्दै गएको बताउनुहुदै आफु सभासद हुदा उत्पिडित जनताको अधिकार, पहिचान, तमुवानको पक्षमा संसदमा संघर्ष गरेको बताउनुभयो।अब आफ्नो अधिकारका लागि तमु समुदाय उठ्नुपर्ने उहाँको जोड थियो। संसदमा गोर्खाजको दोहोरो नागरिकका लागि आफुले नै आवाज उठाएको बताउनुहुदै संसद विकास कोषबाट कास्कीका धेरै आदिवासी जनजाति संघ संस्थालाई सहयोग गरेकै कारण आफुलाई तमु धिं नेपालले सम्मान गरेकोमा आभार व्यक्त गर्नुभयो। अब तमुका छोरा छोरीलाई लोकसेवा तालिम गराउनुपर्दछ आगामी दश वर्षमा सिडिओ तमु किन नहुने भन्नुहुदै इमान्दार र आफ्ना बोल्ने मान्छे नभएकै कारण जेलमा आदिवासी जनजाति र दलित(शिल्पी)युवाहरु भरिभराउ रहेको यर्थाथता सुनाउनुभयो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमु लगायत आदिवासी जनजातिको पहिचान मेटाउन खोज्ने सरकारलाई दवावमुलक कार्यक्रम गर्ने घोषणा गर्नुभयो। उहाँले यस प्रदेशको नामाकरण तमुवान गराउन, ल्होछार विदा कटौती विरुद्ध र तमु भाषालाई सरकारी कामकाजको भाषा बनाउन तमुहरु सडकमा उत्रन तयार रहन आग्रह गर्नुभयो। उहाँले तमु मुख्यमन्त्री र मन्त्री भयो भन्दै २, ४ तमुहरुले समुदायको अधिकार र पहिचान मेटाउन नदिने चेतावनी दिनुभयो।

तमु प्ये ल्हु संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष क्या.इन्द्रबहादुर तमुले तमु जातिको मौलिकता, पहिचान, सँस्कार, सँस्कृतिक संरक्षण गर्न एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो।

तमु धिं नेपाल साउदी अरब प्रवास शाखाका सचिव राजपति तमुले शुभकामना व्यक्त गर्नुुहुदै तमु धिं नेपाल र अनवरत नेतृत्व गर्नुभएकी कर्म तमुको योगदानकै कारण तमु संघ संस्था देश विदेशमा संगठित हुने अभियान चलेको बताउनुभयो।

उक्त कार्यक्रममा मिर्गौला पीडित स्याङ्जा, केघाकी एञ्जिला तमुको स्वास्थ्योपचारका लागि तमु धिं नेपाल साउदी अरब प्रवास शाखाले संकलन गरेको २ लाख ११ हजार रुपैया तमु धिं नेपालकी अध्यक्ष कर्म तमु र प्रवास शाखा सचिव राजपति तमुले पीडित एञ्जिला तमुलाई हस्तान्तरण गर्नुभयो। प्रवास शाखाको मिर्गौला पीडित स्वास्थ्योपचार सहयोग अभियानमा तमु धिं नेपालले ५ हजार, प्रमुख अतिथि सिडिओ तारानाथ अधिकारीले ३ हजार, एसपी ओमबहादुर रानामगरले २ हजार, तमु धिं नेपाल केन्द्रीय आमा समितिले उक्त कार्यक्रममै संकलन गरेको ४० हजार ८५० रुपैया लगायत पीडित तमुलाई हस्तान्तरण गरिएको थियो।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सन्तबहादुर तमु, संचालन सचिव अधिवक्ता जुनाकुमारी तमुले गर्नुभएको थियो भने कार्यक्रमका लागि ओम डेभलेपमेण्ट बैकले सहयोग गरेको थियो।

SHARE