काठमाडौँ । तिहारका अवसरमा उपत्यकाबाट बाहिरिने यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा असुलेको अभियोगमा ट्राफिक प्रहरीले १९ वटा यात्रुवाहक सवारीसाधनलाई कारबाही गरेको छ। मंगलबार गरिएको विशेष चेकजाँचका क्रममा तोकिएको भाडाभन्दा बढी असुलेको भेटिएपछि ती सवारीका चालकहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेश सुवेदीले जानकारी दिए।
उनका अनुसार राजधानीका विभिन्न बसपार्क र नाकाहरूमा निगरानी बढाइएको छ। यात्रुहरूको हित संरक्षण र निष्पक्ष भाडा प्रणाली कायम गर्न प्रहरीले निगरानीलाई अझ कडा बनाउने जनाएको छ।
यात्रीहरूले चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने सवारी चालकबारे जानकारी ट्राफिक प्रहरीले सञ्चालन गरेको हटलाइन नम्बर १०३ मा दिन सक्ने व्यवस्था गरिएको छ। यस्ता चालकहरूलाई यातायात व्यवस्था ऐन–२०४९ अनुसार कानुनी कारबाही हुने व्यवस्था छ। प्रहरीका अनुसार चाडपर्वमा यात्रुहरूको सुरक्षासँगै निष्पक्ष भाडा सुनिश्चित गर्न थप टोली परिचालन गरिएको छ।










