कास्की जनजातिले जेठ २० गते पोखरामा बृहत प्रदर्शन गर्ने

पोखरा, १५ जेठ

कास्कीका आदिवासी जनजातिहरुले जेठ २० गते पोखरामा बृहत प्रदर्शन गर्ने भएको छ ।

तमु धिं नेपालद्धारा आयोजित आदिवासी जनजाति अन्र्तक्रियात्मक भेलाले ४ नं. प्रदेशलाई तमुवान—मगरात प्रदेश नामाकरण गराउन, कटौती गरिएको आदिवासी जनजातिका चार्डपर्व विदा पुनःदिलाउन, आदिवासी जनजातिका भाषाहरुलाई सरकारी कामकाजको भाषा बनाउन लगायतका मागसहित पोखरामा जेठ २० गते आइतवार बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो। जेठ २० गते बिहान ११ बजे पोखराको चिप्लेढुंगामा भेला भई कस्केली आदिवासी जनजातिहरु भेला भई आदिवासीय पहिचान, अधिकार, स्वाभिमान, नामेट गरिन लागिएको अस्तित्व रक्षाका लागि आन्दोलनको तयारीको लागि सांकेतिक प्रदर्शनका साथ प्रदेश संसदमा पुगी आफ्ना माग पत्र प्रदेश सभा, प्रदेश सरकार र संघीय सरकारलाई बुझाउने भएको छ।

अधिकारका लागि आन्दोलन अपरिहार्य भएकाले प्रदर्शनको लागि तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ भने कर्म तमुकै संयोजकत्वमा तमुवान—मगराँत संघर्ष समिति गठन र आन्दोलनको आचार संहिता तयार गर्न र सचिवालय कार्यका लागि तमु ह्युला छोंज धिंका प्रदेश अध्यक्ष दलबहादुर तमु, आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म तमु, तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमु, नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्णबहादुर रानामगर, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका ई.देउकाजी तमु, आदिवासी जनजाति संघ कास्कीका सभापति जितबहादुर तमु, तमु प्ये ल्हु संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आइबहादुर तमु, तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमु, तमु ह्युला छोंज धिं कास्कीका अध्यक्ष टेकबहादुर तमु, सचिव आसबहादुर तमु सदस्य रहनु भएको समिति गठन गरिएको छ ।

यसरी नै र्याली व्यवस्थापनका लागि तमुवान संघर्ष समितिका संयोजक हुमबहादुर तमुको संयोजकत्वमा विष्णु तमु, बुद्धिमाया थापामगर, गजेन्द्र लिम्बु, बमबहादुर छन्त्याल रहेको उपसमिति, आर्थिक व्यवस्थापनका लागि बुद्धिमाया थापामगरको संयोजकत्वमा दिलु तमु, कृष्णबहादुर तमु, जुना तमु, ज्ञापनपत्र तयारीमा हुमबहादुर तमु, आसबहादुर तमु, निम तमु र ओम तमु रहेको उपसमिति गठन गरिएको छ ।

यस अघि कार्यक्रममा बोल्नुहुदै तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आदिवासीका अधिकार कटौती हुदै गएकाले शसक्त आन्दोलनका लागि बृहत प्रर्दशनमा विगतदेखि विभेदमा पारिएका समुदायको सहभागीताका लागि आग्रह गर्नुभयो।

तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश अध्यक्ष दलबहादुर तमुले एक मन एकताका साथ अधिकार र पहिचान निम्ती आन्दोलित हुनुपर्ने बताउनुहुदै पार्टीको नाउमा जाति र राष्ट्रियतालाई ओझेलमा पार्न नहुने बताउनुभयो।

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले तमुवान—मगरात नामाकरण, ल्होछार लगायतका कटौती भएका विदाको पुनः प्राप्ति, आदिवासी जनजातिका भाषालाई कामकाजको भाषा लगायतका माग पुरा गराउन सशक्त संघर्ष समितिको आन्दोलनको संहिता जरुरी रहेकोमा जोड दिनुभयो।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षता र महासचिव गिरीप्रसाद तमुको सञ्चालनमा भएको कार्यक्रममा आन्दोलनको औचित्यका बारेमा आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमु, तमु ह्युला छोंज धिंका केन्द्रीय सदस्य चेतबहादुर तमु, थकाली सेवा समितिका अम्बर तुलाचन, ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर तमु, नेपाल मगर संघ कास्कीकी बुद्धिमाया थापामगर, तमु प्ये ल्हु संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष आइबहादुर तमु, नेपाल छन्त्याल संघ कास्कीका सचिव बमबहादुर छन्त्याल, तामाङ घेदुङ केन्द्रीय सदस्य सुवेदार हरिमान तामाङ, किरात सेवा समाज कास्कीका अध्यक्ष गजेन्द्र लिम्बु, आविदासी जनजाति संघका कास्की सभापति जितबहादुर तमु, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका गण्डकी धवलागिरी इञ्चार्ज ई.देउकाजी तमु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालकी उपाध्यक्ष डिलमाया तमु, तमुस्यो ह्युला छोंज धिकी विष्णु तमु, तमु ह्युला छोंज कास्कीका सचिव आसबहादुर तमु, कोषाध्यक्ष कृष्णबहादुर तमु लगायतले एकताबद्ध शसक्त आन्दोलनको आवाश्यकतामा जोड दिनुभएको थियो।

SHARE