पूर्व भौतिक योजना राज्यमन्त्री पदम राईको अन्तिम संस्कार गरिएको छ । पशुपतिस्थित विद्युत शवदाह गृहमा आइतबार उनको दाह संस्कार गरिएको हो ।
संस्कार गर्नुअघि सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।
पार्किन्सन्स रोगबाट पीडित पूर्व राज्यमन्त्री राईको वीर अस्पतालमा उपचारका क्रममा मंसिर ८ गते साँझ साढे ६ बजे निधन भएको थियो । उनी करिब पाँच वर्षदेखि रोगबाट पीडित थिए । यद्यपि २ वर्षअघिबाट भने रोगले गम्भीर रूप लिएको थियो ।
रोग बढ्दै गएपछि उनको उपचार मेडिसिटी अस्पतालमा लामो समयसम्म गरिएको थियो । उनको स्वास्थ्य झन जटिल भएपछि ९ दिन अघि मात्र वीर अस्पताल सारिएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्र बस्नेतले जानकारी दिए ।
अन्तिम संस्कारमा आफन्तहरू, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख ओनसरी घर्ती, प्रतिनिधिसभा सदस्य दुर्गा राईलगायत माओवादी केन्द्रका पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरू उपस्थित थिए ।
अन्तिम संस्कारका लागि उनको पार्थिव शरीर पशुपति लानुअघि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यहाँ पार्टी अध्यक्ष तथा नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
को हुन् स्व. पूर्वराज्यमन्त्री राई ?
वि. सं. २०२३ पुस १५ गते भोजपुर जिल्लाको षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा लालबहादुर राई र दौलती राईको कोखबाट स्व. पूर्वराज्यमन्त्री पदम राईको जन्म भएको थियो । उनी विद्योदय मावि भोजपुरबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि सुनसरी झरेका थिए । उनले सुनसरीको जनता क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेका थिए ।
स्व. पूर्वराज्यमन्त्री राईका दुई दाजु, एक भाइ र ६ जना दिदीहरू रहेका छन् । हाल उनका श्रीमती जमुना राई र छोरा सन्देश तथा छोरी सामना राई रहेका छन् ।
राजनीतिक यात्रा
स्व. पूर्वराज्यमन्त्री राईले वि.सं. २०४६ बाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनले अनेरास्ववियु छैटौँको सदस्य हुँदै औपचारिक रूपमा राजनीति सुरु गरेका थिए । उनले एक वर्षपछि २०४७ सालमा पार्टी सदस्यता लिएका थिए । उनी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा तत्कालिन नेकपा (माओवादी)को सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर–तेह्रथुम–संखुवासभाको इन्चार्ज भए । त्यसपछि उनी २०६१ सालमा माओवादीको जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टीको केन्द्रीय समिति सदस्य हुँदै पोलिटव्यूरो सदस्यसमेत बने ।
स्व. राईले राजकीय पदको समेत जिम्मेवारी बहन गरेका थिए । उनी अन्तरिम व्यवस्थापिकाको सदस्य हुँदा २०६३ सालमा भौतिक योजना राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी २०६४ सालको संविधानसभाको निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।
२०६९ असार ४ मा मोहन वैद्यले पार्टी विभाजन गर्दा उनी वैद्यतिर खुलेका थिए । वैद्यले नेतृत्व गरेको माओवादी पनि नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा विभाजन भयो । स्व. राई त्यतिबेला विप्लवको साथमा लागेका थिए । तर विप्लवले युद्धकालिन अवस्था झैँ भूमिगत कार्यदिशा रोजेपछि त्यसप्रति ‘असन्तुष्टि जनाउँदै’ उनी पुनः माओवादी केन्द्रमा फर्किएका थिए ।
पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।