गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

पोखरा, २८ असार

संघीयताको मर्म र राज्य पुनसंरचनाको आधार विरुद्ध प्रदेश नं. ४ लाई गण्डकी प्रदेश नामाकरण गरेको विरुद्ध बुधवार पहिचानवादी युवाहरुले विरोध प्रदर्शन गरेकाछन्।

पृथ्वीनारायण क्याम्पसबाट गण्डकी प्रदेश खारेज गर, तमुवान—मगराँत प्रदेस घोषणा गर, पहिचान मेट्न दिदैनौं लगायतका नारा लगाउदै क्याम्पस गेटमा पुगेको जुलुस कोणसभामा परिणत भएको थियो। एक घण्टा चक्का जामसहित आयोजित विरोध सभाका वक्ताहरुले पहिचानको नामेट गर्दै घोषणा गरेको गण्डकी प्रदेश खारेज गर्न माग गर्दै पहिचानका लागि आवाश्यक परे बन्दुक उठाउने उद्घोष गरेका थिए।

तमुवान—मगराँत संघर्ष समितिका प्रवक्ता हुमबहादुर तमुले पहिचान मेटाउदै गण्डकी प्रदेश घोषणा विगतका आन्दोलन र परिवर्तनको अपमान गरिएको बताउनुभयो।संघीयताको मर्म र राज्य पुनसंरचनाको आधार विना बहुमतिय तानाशाही प्रवृतिले संघीयताकै विरुद्ध षडयन्त्र भईरहेको भन्दै खवरदारी गर्नुभयो। उहाँले तमुवान—मगराँत पहिचानको अपमान गर्दै गण्डकी प्रदेश नामाकरणको आफुहरुले सेती गण्डकीमा अन्त्येष्टि गरिसकेको बताउनुहुदै आवाश्यक परे गण्डकी प्रदेश नामाकरण गर्नेहरुलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो। ४५ प्रतिशतको सत प्रतिशत सम्बोधन र ३४ प्रतिशत जनताको सुझावलाई अपमानले प्रदेश समृद्धि होइन द्धन्द्ध निम्त्याइएको उहाँको भनाई थियो। राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीस, प्रतिनिधी सभाको अध्यक्ष, राष्ट्रियसभाको अध्यक्ष, प्रधानसेनापति, प्रहरी महानिरीक्षक देखि प्रमुख जिल्ला अधिकारसम्म एउटै जातका कारण अहिलेको राज्य जातियता भएको भन्दै आफुहरु जातिय राज्य अन्त्य गरी सबैको पहिचान, सभ्यता सम्मान हुने समतामुलक समाज निर्माणका लागि संघर्षरत रहेको बताउनुभयो।

विगतदेखिको जातिय राज्यले आदिवासी जनजातिहरुको मौलिक नाम, गाम, ठाम, पहिचान, अधिकार, स्वाभिमान लुटिदै अस्तित्व रक्षाको अवस्थामा अन्तिम लडाई लड्न आवाश्यक परे बन्दुक उठाउन पछि नपर्ने बताउनुभयो। पुर्खाहरुले अरुका लागि पहिलो र दोश्रो विश्वयुद्धमा भिसी र एमसी तक्मा पाए भने आफुहरु आफ्नै अधिकार र पहिचानको आन्दोलनमा भिसी र एमसी तक्मा प्राप्तीका लागि लड्ने उद्घोष गर्नुभयो।

पहिचानवादी युवा किरण थापामगरको अध्यक्षता र प्रेम बुढामगरको सञ्चालनमा भएको विरोध सभामा पहिचानवादी युवाहरु ध्रुव राना, आस तमु, दिनेश रोक्का मगरा, अमृत तमु, चन्द्र तामाङ (मुस्कान) लगायतले गण्डकी प्रदेश खारेज गरी तमुवान—मगरात प्रदेशको माग गर्नु भएको थियो भने पहिचानवादी युवाहरुले पहिचान पाप्तिका लागि आन्दोलनको काष्टिङ मात्रै गरेको चेतावनी दिएका थिए।

SHARE