योन्जनवंशको ‘पुजाविधि’ पुस्तक लोकार्पण

तामाङको योन्जनवंशको पुजापाठमा आधारित ‘कूल पुजाविधि’ पुस्तक लोकार्पण भएको छ । आइतबार बौद्ध काठमाडौं नयाँबस्तीस्थित छ्योर्तेन टासी तामाङ गुम्बामा उर्गेन धोङाक छ्योइफेल छ्योतेन धार्गेलिङ गोन्पाद्वारा प्रकाशित पुजाविधि पुस्तक लोकार्पण गरिएको हो ।

लिसंखुपाखर गाउँपालिका वडा नं २, म्हानेडाँडाका स्व. पद्मबज्र लामाले परिकल्पना तथा संकलन गरिएको सामग्रीलाई उनकै छोरा जीवन योन्जन लामाको संयोजनमा पुस्तकलाई मूर्त रुप दिएको हो । पुस्तकलाई स्व. पद्मबज्र लामा स्वर्गारोहण भएको दुई वर्ष पुगेको पुण्यतिथिमा विमोचन गरिएको हो । पुस्तकमा योन्जन थरी तामाङले पितृ पूजा गर्ने (फुइ ठाम्बा) बिधि र तरिकाको बारेमा उल्लेख गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी सांसद माइली तामाङले सम्भोटा लिपीमा रहेको पुस्तकलाई सबैले पढ्न सकिने गरी नेपालीमा अनुवाद गरिएकोमा खुशी व्यक्त गरिन् । उनले यो पुस्तक सम्पूर्ण योन्जन बंशको लागि अतिआवश्यक रहेको उल्लेख गरिन् । त्यस्तै पुस्तकमाथि टिप्पणी गर्दै राजनीतिज्ञ एवं बौद्ध दर्शनाचार्य सीताराम तामाङले आठौं शताब्दीमा सबै बोनधर्मका अनुयायी भएका स्वीकारे । ‘नालन्दा विद्यालयमा अध्ययन गरेकाहरुले प्रभावित पारेका हुन्‚’ उनले भने‚ ‘बज्रयान र बोन मिस्रित लामा भएको समाज हो ।

खासमा मिलारेपा मान्ने रहेछौं ।’ उनले मिलारेपा दोलखाको जितबिर लामाको वंशज रहेको समेत अनुसन्धानले पत्ता लागेको बताए । यसैगरी जापानका लागि पूर्वराजदुत डा. गणेश योन्जनले अहिलेसम्म पुस्तकहरु प्रकाशित भएको बताउँदै योन्जनबंशको कूलपूजा विधि पुस्तकले हाम्रो कूल पूजा गर्नलाई सहज हुने बताए । यसैगरी पुस्तकका अनुवादक टीका शेर्पाले बौद्ध धर्म अनुष्ठान मात्रै नभई साँस्कृतिक सभ्यता भएको बताए । उनले सम्भोटा नै तामाङ समुदायले लिपिको रुपमा उपयोग गर्नलाई सुझाए ।

योन्जन वंशावलीका अध्यक्ष महेन्द्रजंग तामाङले कुलपूजालाई यो पुस्तक महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा र उपाध्यक्ष मिठुदेवी लामा, लिसंखुपाखर गाउँपालिकाका पूर्व उपाध्यक्ष हेमगंगा मोक्तान, बुद्धोदय माविका प्रधानाध्यापक कृष्णबहादुर श्रेष्ठ, समाजसेवी पुण्यबज्र लामाले पुस्तकको महत्वको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रम गोन्पाका प्रमुख लामा लवाङ घ्याम्छो लामाको अध्यक्षतामा र इन्दिरा योन्जनले सहजीकरण गरेका थिए । त्यस्तै बुद्ध बचन सुत्र तन्त्रको सागर सार कामघेनु सम मणिमाला (धारणी) संग्रह नाम विहरतिस्म (दोमाङ सार मन्त्र) नामक पुस्तक सोही दिन विमोचन भएको थियो । पुस्तकलाई तामाङ टुल्कु लोब्साङ नामग्याल रिन्पोछेको बाहुलीमा पुस्तक विमोचन भएको हो ।

तामाङ गुम्बाका अध्यक्ष हरिबहादुर लामाले संकलन गरेको उक्त पुस्तकलाई खेन्पो निमा जाङबो लामा र लामा पेमा ग्याल्पोले सम्पादन गरेका थिए । सोही दिन छ्योर्तेन टासी तामाङ गुम्बामा सुरेश लामाको संयोजकत्वमा १५ सदस्य रहेको युवा समुह गठन गरेको छ ।

SHARE