‘तामाङ मिडिया अवार्ड’ द्वारा पत्रकार मायालु ङेसुर र सन्तवीर लामा सम्मानित

तामाङ पत्रकार संघ केन्द्रीय कार्यसमितिले २९ औँ तामाङ प्रसारण दिवस  मनाएको छ ।

२०५१ साल भाद्र १ गते रेडियो नेपालबाट तामाङ भाषा समाचार प्रसारण गरेको दिनलाई तामाङ पत्रकार संघले प्रत्येक वर्ष भदौ १ गतेलाई तामाङ प्रसारण दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तिर्थबहादुर लामाले तामाङ र नेवारी भाषा छिटै सरकारी कामकाजीको भाषामा प्रयोग हुने बताए । उनले आगामी संसद् अधिवेशन सुरु लगत्तै सदनबाट पारित गर्ने गरी तयारी भइरहेको बताए ।

उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलेले राज्यले आदिवासी जनजातिको पहिचानलाई स्विकार्नै पर्ने जिकिर गर्दै मिलेर बसेको समुदायलाई भड्काऊ गर्ने खेलोमेलोमा लागे त्यो आन्दोलनको आँधीबेरी कसैले रोक्न नसक्ने बताए ।

प्रसारण दिवसमा ‘तामाङ मिडिया अवार्ड’ बाट धनकुटाबाट पत्रकारिता गरिरहेका सन्तवीर लामा र काठमाडौँबाट साढे दुई दशक पत्रकारिता गरिरहेकी मायालु ङेसुर सम्मानित भएका छन् । विगत दुई दशक लामो समय देखि पत्रकारिता क्षेत्रमा आबद्ध लामा र ङेसुर नगद ५ हजार सहित सम्मानित भएको हो ।

कार्यक्रमको अवसरमा तामाङ पत्रकार  संघद्वारा प्रकाशित ह्याङ्ला काई नामक पुस्तकको विमोचन  साथै ‘साङ्गाला जिर्मा’ नामक  रिमेक गरिएको रिमिक्स तामाङ म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

SHARE