काठमाडौं । “कुलपरम्परा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहासको खोजी हाम्रो अभियान” भन्ने नारासहित ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानमा शुक्रबार आयोजित कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा ग्लान वंश नेपालका संरक्षक हितबहादुर ग्लान तामाङ को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै उनले नुवाकोट जिल्ला केवल ग्लानहरूको मात्र नभई तामाङ समुदायभित्रका विभिन्न थरहरूको पवित्र उत्पत्ति स्थल भएको बताए। उनका अनुसार थिङ, लो, स्याङ्तान, ब्लोन र गोलेलगायतका थरहरूको ऐतिहासिक थातथलो नुवाकोट रहेको विभिन्न स्रोतहरूले पुष्टि गर्दै आएका छन्।
भेलामा झापा, उदयपुर, सिन्धुली, सर्लाही, बारा, मकवानपुर, चितवन, गोरखा, नुवाकोट, धादिङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर र भक्तपुरलगायत जिल्लाबाट ग्लान वंशका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो चरणमा स्थानीय लाप्ताबा लाबोनहरूले साङ्शेरगेम गरी दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापा को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। दोस्रो चरणमा नुवाकोट ककनीका लाप्ताबा लाबोन पुन्यमान ग्लान लामा ले लाप्ताबाको खेस्युलको व्याख्या गर्दै गोल्फु नाम्सापुरान ग्लान वंशको पवित्र थातथलो भएको थप पुष्टि प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी राष्ट्रिय कलाकार बुद्धि तामाङ ले बुद्ध जयन्तीको अवसरमा आयोजित यस भेलाले ग्लान समुदायको संस्कार र संस्कृतिको संरक्षण तथा विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
भेलाले पत्रकार अर्जुन ग्लान को संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ। समितिमा रक्षबहादुर ग्लान (काठमाडौं), ललित ग्लान (मकवानपुर), सर्केस ग्लान (मकवानपुर), छिरिङ दोर्जे ग्लान (नुवाकोट), बच्चुराम ग्लान (तादी), ज्ञानबहादुर ग्लान (दुप्चेश्वर), आनन्दी ग्लान (ककनी), बिना ग्लान (ललितपुर), शर्मिला ग्लान (धादिङ) र करुणा ग्लान (सूर्यगढी) सदस्य रहेका छन्।
कार्यक्रममा नवनिर्मित ‘ग्लान ङारदीम’को समेत उद्घाटन गरिएको छ। उक्त संरचना आर्थिक वर्ष २०८१/८२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित ९० लाख रुपैयाँ र दुप्चेश्वर गाउँपालिकाको ९ लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको हो।
कार्यक्रमका सञ्चालक तथा आयोजक समिति सदस्य रक्षबहादुर ग्लान (युनिक)ले ग्लान समाज नेपालको प्रारम्भ २०७३ असार ११ गते वरिष्ठ इन्जिनियर नरेन्द्रबहादुर ग्लानको काठमाडौंस्थित निवासमा भएको प्रारम्भिक छलफलबाट सुरु भएको स्मरण गराउँदै यस भेलाबाट ‘ग्लान वंश नेपाल’का रूपमा औपचारिक रूपान्तरण भएको जानकारी दिए।
उनले मातृभाषामार्फत् सबै ग्लान वंशलाई पुर्ख्यौली परम्परा नबिर्सन र जीवनमा एकपटक नुवाकोटको दुप्चे गोल्फु नाम्सापुरानमा पुग्न आग्रहसमेत गरेका छन्।









