आज ३६ औँ विश्व एड्स दिवस

आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले दिवसको अवसरमा विभिन्न चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एक जना एचआईभीबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने केन्द्रले जनाएको छ । असुरक्षित यौनसम्पर्कलाई एचआईभी एड्सको मुख्य कारण मानिन्छ । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको छ ।

SHARE