काठमाडौं । चार पटकको विश्वकप विजेता इटाली फिफा विश्वकपमा स्थान बनाउने अन्तिम चरण नजिक पुगेको छ। गएराति प्लेअफ पाथ ‘ए’ को सेमिफाइनलमा नर्थन आयरल्याण्डमाथि २–० को जित निकाल्दै इटाली फाइनलमा प्रवेश गरेको हो।
बर्गामोमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा इटालीले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। खेलको ५६औं मिनेटमा मिडफिल्डर सान्द्रो टोनालीले बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८०औं मिनेटमा मोइसे किनले अर्को गोल थप्दै जित सुनिश्चित गरे।
पहिलो हाफमा भने इटालीले दबाब महसुस गरेको थियो। युवा खेलाडीहरूले भरिएको नर्थन आयरल्याण्डले बलियो चुनौती दिए पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न सकेन।
अब इटालीले फाइनलमा बोस्निया–हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले विश्वकपको समूह ‘बी’ मा स्थान बनाउनेछ, जहाँ क्यानडा, स्वीट्जरल्याण्ड र कतार रहेका छन्।
इटालीका लागि यो जित विशेष महत्वको मानिएको छ, किनकि टोली लगातार तेस्रो पटक विश्वकपबाट बाहिरिने जोखिममा थियो। उता, बोस्नियाले सेमिफाइनलमा वेल्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।









