बाह्रखरी कथा प्रतियोगितामा मनोजबाबु पन्तको ‘बुढो लाकुरीको रुख’ उत्कृष्ट

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता—२०८०’मा मनोजबाबु पन्तको ‘बुढो लाकुरीको रुख’ उत्कृष्ट भएको छ ।
आइतबार काठमाडौंमा भएको कार्यक्रममा कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा–२०८०’ पनि लोकार्पण गरिएको हो। त्यस्तै प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ले दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ले तेस्रो स्थान हाँसिल गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरूलाई क्रमशः एक लाख, साठी हजार तथा चालीस हजार रुपैयाँ नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गरे ।
लोकार्पण गरिएको कथासंग्रहमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८ सय ४३ कथाहरूमध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरिएको छ । यसमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले लगायत कथाकारका २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समाविष्ट छन् । कथा लेखन प्रतियोगिताको पाँचौं संस्करणमा विजयी उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूकोे कथासहित २९ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८०’ पब्लिसिङ् पार्टनर फाइन प्रिन्टले बजारमा ल्याएको हो । संग्रहको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।

१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्याङ्कन समिति गरी बाह्य निर्णायकहरूमा प्रा. डा. सावित्री कक्षपतीको संयोजकत्वमा आख्यानकारहरू महेशविक्रम शाह र सुबिन भट्टराई सदस्य रहेका थिए । आन्तरिक मूल्यांकन समिति बाह्रखरीका विचार सम्पादक अधिकारीको संयोजकत्वमा रहेको थियो । साहित्यमा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षणमा देखिएको कमीले गर्दा बाह्रखरीले विश्वव्यापी कथा प्रतियोगिताको आयोजनालाई महत्त्व दिँदै आएको हो । यस प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतका कथाकारको सहभागिता रहने गरेको छ । नेपाली साहित्यको क्षेत्रले यसलाई ‘सेलिब्रेसन’ का रुपमा लिएका छन् । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपाली समाजको व्यथा, वेदना र विद्रोह बोल्ने कथा लेखन प्रतियोगिता आफैँमा सेलिब्रेसन गर्न लायक भएको उल्लेख गरे । ‘कथा व्यावहारिक विधा हो । छोटो समयमा सानो आँखी झ्यालबाट ठूलो समाज र यथार्थ हेर्न सकिने यो विधालाई बाह्रखरी मिडियाले संरक्षण र संवर्द्धन  गर्दै आएको छ, यो सराहनीय पक्ष हो,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘नेपाली साहित्यको विश्वमा स्थान कहाँ छ भन्ने कुरा आउँछ । यो संग्रहलाई विश्वका विभिन्न भाषामा अनुवाद गरेर नेपाली साहित्यको बजारीकरण गर्न सकिन्छ ।’ गैरआख्यान पेट पाल्ने माध्यम मात्र भएको भन्दै उनले समाज बुझ्ने  र चेतना जगाउने आख्यान विधालाई सशक्त बनाएर लैजानुपर्नेमा जोड दिए ।

 

 

 

SHARE