सगरमाथाको चुचुरोमा उभिएको त्यो क्षण

 तेमाल टेकानपुरका भिजन तामाङका लागि हिमाल केवल पेशा होइन, जीवनको अर्थ हो। उनी भन्छन्, “हिमालसँग मेरो प्रेम बसिसकेको छ। सायद जिन्दगी यही क्षेत्रमा बित्छ।” सगरमाथाको चुचुरोमा पाइला टेकिसकेपछि पनि उनका लागि त्यो अनुभव शब्दमा बयान गर्न सकिने कुरा होइन। खुसी, गर्व, रोमाञ्च र जिम्मेवारी सबै भावना एकैपटक मिसिएको त्यो क्षण उनको स्मृतिमा सदैव जीवित रहनेछ।

सगरमाथा आरोहणको रात उनी बेलुका १० बजे क्याम्पबाट हिँडेका थिए। लगातार नौ घण्टाको कठिन यात्रा पार गर्दै बिहान ६ बजे संसारको सर्वोच्च शिखरमा पुग्न सफल भए। “त्यो बेला कस्तो अनुभूति भयो भन्ने कुरा शब्दमा भन्न सक्दिनँ,” उनी सम्झन्छन्, “वरिपरि हिमाल नै हिमाल देखिन्थ्यो। टिबेटतर्फका हिमश्रृंखला, नेपालको खुम्बु क्षेत्र, माथि नीलो आकाश र तल बादलको समुद्र। संसारको सबैभन्दा अग्लो स्थानमा उभिएर चारैतिर हेर्दाको त्यो दृश्य जीवनभर बिर्सन सक्दिनँ।”

तर सगरमाथाको यात्रामा केवल आनन्द मात्र हुँदैन। त्यहाँ जोखिम, पीडा र मृत्युको साक्षात्कार पनि हुन्छ। यसपालिको आरोहणमा उनका आँखाअगाडि दुई जना आरोहीले ज्यान गुमाए। एक जनाको स्वास्थ्य समस्या र अर्का एक जनाको आरोहणका क्रममा भएको जटिलताले मृत्यु भयो। यस्ता घटना देख्दा हिमालको कठोर यथार्थ झन् नजिकबाट महसुस हुन्छ।

“हिमालले कहिलेकाहीँ खुसी दिन्छ, कहिलेकाहीँ आँसु,” उनी भन्छन्, “त्यहाँ पुगेपछि मानिसले प्रकृतिको अगाडि आफू कति सानो रहेछ भन्ने महसुस गर्छ।”

भिजनको हिमाल यात्राको सुरुआत भने सगरमाथाबाट भएको होइन। उनको परिवारकै पृष्ठभूमि हिमालसँग जोडिएको थियो। बुवा र दाजुभाइहरू पर्वतारोहण क्षेत्रमा आबद्ध थिए। तर उनलाई आफैंलाई यो क्षेत्रमा लाग्ने इच्छा भने कोरोना महामारीपछि जाग्यो।

“त्यसबेला म सामान्य ट्रेकिङ गर्थें,” उनी भन्छन्, “साथीहरूसँग भेट भयो, जसले सगरमाथा दस–पन्ध्र पटकसम्म चढिसकेका थिए। उनीहरूका अनुभव सुन्दा मेरो मनमा पनि हिमाल चढ्ने सपना पलायो।”

त्यसपछि उनले क्रमशः आधारभूत तालिमहरू लिन थाले। दाजुले नै तालिममा भर्ना गरिदिए। परिचयात्मक कोर्सदेखि उद्धार, रक क्लाइम्बिङ, हिमाली सीप र उच्च हिमाली तालिमसम्मका विभिन्न चरण पार गरे। त्यसैबीच परिवारसँग सम्बन्धित कम्पनीले छ हजार मिटरभन्दा माथिका हिमाल चढ्ने अवसर दियो।

सगरमाथा पुग्नुअघि उनले आलाम्पिक, लार्के, चुलो, थोरङला पिक, हिमलुङलगायतका धेरै हिमाल आरोहण गरिसकेका थिए। ती सबै अनुभव सगरमाथाको तयारी थिए।

“सपना पूरा गर्न सजिलो हुँदैन,” उनी भन्छन्, “हिमाल क्षेत्रमा त झन् धेरै मेहनत चाहिन्छ। आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ, धैर्य राख्नुपर्छ र निरन्तर सिकिरहनुपर्छ।”

भिजनले विभिन्न कम्पनीमा आफ्नो प्रमाणपत्र, अनुभव र लक्ष्य प्रस्तुत गरे। उनको लगनशीलता देखेर कम्पनीहरूले अवसर दिन थाले। अन्ततः उनले सगरमाथाको चुचुरो छोए त्यो सपना, जसले उनलाई वर्षौंदेखि तानिरहेको थियो।

उनका लागि सगरमाथा अन्तिम गन्तव्य होइन, नयाँ यात्राको सुरुआत हो।

“मेरो लक्ष्य सगरमाथाको चुचुरोमा पुग्नु थियो,” उनी भन्छन्, “अब त्यो पूरा भयो। अब करियरको नयाँ अध्याय सुरु भएको छ।”

पर्वतारोहण क्षेत्रमा काम गर्ने स्थानीय गाइडहरूलाई प्रायः शेर्पा भनेर चिनिन्छ। उनीहरू पर्यटकलाई सुरक्षित रूपमा हिमालको शिखरसम्म पुर्‍याउने जिम्मेवारीमा हुन्छन्। “हामी पैसा तिरेर होइन, पैसा लिएर मानिसलाई हिमाल चढाउँछौँ,” उनी मुस्कुराउँदै भन्छन्, “अब सगरमाथा चढिसकेपछि कम्पनीहरूले मेरो क्षमता र शैली देखेका छन्। नयाँ अवसरहरू आउन सजिलो हुन्छ।”

बाल्यकालमा उनको अर्को सपना पनि थियो खेलाडी बन्ने। फुटबलमा रुचि थियो, स्थानीय प्रतियोगिताहरूमा धेरै खेले। तर जीवनले अन्ततः उनलाई हिमालतिर डोर्‍यायो।

आज उनी आफ्नो सफलताको श्रेय परिवारलाई दिन्छन्।

“बुवा, आमा, दाजुभाइ र साथीहरूको साथ नभएको भए म यहाँसम्म पुग्दिनथेँ,” उनी भन्छन्, “सपना देख्नेले दुःख पनि सहनुपर्छ। धेरै संघर्ष, धेरै कठिनाइ र धेरै त्यागपछि मात्र सफलता भेटिन्छ।”

हिमाललाई उनी केवल साहसिक गन्तव्य मान्दैनन्। उनका लागि हिमाल एउटा विद्यालय हो, जहाँ धैर्य, अनुशासन, जिम्मेवारी र आत्मविश्वास सिक्न पाइन्छ।

“हिमालबारे राम्रोसँग बुझेर, तयारी गरेर आउनेहरूलाई आरोहण सजिलो हुन्छ,” उनी भन्छन्, “तर सबैभन्दा ठूलो कुरा भनेको सम्मान हो। हिमाललाई सम्मान गर्नुपर्छ। प्रकृतिलाई सम्मान गर्नुपर्छ।”

सगरमाथाको चुचुरोमा उभिएको त्यो नौ घण्टाको यात्राले भिजन तामाङको एउटा सपना पूरा गरिदियो। तर त्यो सफलताभन्दा ठूलो कुरा अर्को छ हिमालप्रतिको उनको प्रेम अझ गहिरो बनेको छ। अब उनको जीवनको बाटो स्पष्ट छ। त्यो बाटो हिमाल हुँदै, हिमालमै पुग्छ।