भुजेल चलचित्रकर्मी संघको आठौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न, अमृत सिं भुजेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौं । भुजेल चलचित्रकर्मी संघको आठौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

संघका अध्यक्ष अमृत सिं भुजेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा भुजेल सेवा समिति अध्यक्ष खेमराज भुजेल प्रमुख अतिथि रहनुभएको थियो भने प्रदेश सभा सदस्य सुस्पा भुजेल विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा भुजेल समुदायका साथै विभिन्न जातजातिका चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अमृत सिं भुजेलले भुजेल समुदायका चलचित्रकर्मीहरूको पहिचान, हकहित र सशक्तिकरणका लागि संघले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भुजेल चलचित्रकर्मीहरूको सिर्जनात्मक क्षमता र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन संघले अग्रणी भूमिका खेल्ने बताउनुभयो।

प्रमुख अतिथि खेमराज भुजेलले भुजेल चलचित्रकर्मी संघले समुदायको सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा संस्थागत विकास, प्रशिक्षण र सहकार्यमा जोड दिन आग्रह गर्नुभयो।

विशेष अतिथि प्रदेश सभा सदस्य सुस्पा भुजेलले चलचित्र क्षेत्रमार्फत भुजेल समुदायको आवाज सशक्त रूपमा उठ्न थालेको बताउँदै प्रदेश तथा राज्यस्तरबाट सम्भव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

साधारण सभा तथा अधिवेशनबाट अध्यक्ष अमृत सिं भुजेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। नव निर्वाचित कार्यसमितिमा अध्यक्ष अमृत सिं भुजेल,सह-अध्यक्ष राम बहादुर भुजेल
पवन भुजेल ,पदम बहादुर भुजेल,महासचिव बिपना भुजेल,सचिवहरू नेत्र बहादुर भुजेल, पर्शुराम भुजेल, बिमला भुजेल,कोषाध्यक्ष किरण भुजेल,सह–कोषाध्यक्ष भावना भुजेल,सदस्यहरू मिलन भुजेल, रेशम भुजेल, बिरबल भुजेल निर्वाचित भएका छन्।

संघका सचिव नेत्र भुजेलले अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै नव निर्वाचित कार्यसमितिले भुजेल चलचित्रकर्मीहरूको एकता, क्षमता अभिवृद्धि र सिर्जनात्मक यात्रालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए ।