पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन् ।
कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उनको अनुहारमा समेत चोट लागेको छ । हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला परेको एक महिना हुन लागेको छ । सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।
रोजगारदाता मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीले समेत उपचारमा बेवास्ता गरेपछि विक्षिप्त बनेकी मोक्तानले उपचारका लागि सहयोगको याचनासमेत गरेकी छन् । “उपचारै नपाउँदा म त मुढाजस्तै ढलिरहेको छु । न त उठ्न, चल्न सक्छु, न त दिसापिसाब नै गर्न सक्छु । विदेशी भूमिमा मेरो रेखदेख र स्याहारसुसार गरिदिने पनि कोही छैन । उपचार नपाउँदा जीवनभर कुँजिएरै बस्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ”, पीडा सुनाउँदै मोक्तानले भनिन् ।
पीडित मोक्तानको औषधोपचारसहित पाउन सक्ने सेवा सुविधाका लागि कानुन व्यवसायीको व्यवस्था गरी औषधोपचारसँगै आवश्यक कानुनी उपचारको समेत पहल भइरहेको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले बताए । उनको उपचारका लागि यहाँ क्रियाशील नेपाली सङ्घसंस्थामार्फत आर्थिक सहयोग संकलन अभियानसमेत सञ्चालन गरिएको उनले सुनाए ।अस्पतालले डिस्चार्ज गरेपछि उनी कम्पनीले कामदार राख्दै आएको एक आवासगृहमा साथीहरूसँग बस्दै आएकी छन् । नेपाल नगएको चार वर्ष भएको बताएकी मोक्तानको आठ वर्षीय छोरा र श्रीमान् नेपालमा रहेको जनाइएको छ ।
मोक्तान दुर्घटनामा परी उपचारबाट समेत बञ्चित हुनुपरेको विषयमा सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको र उनको उपचारका लागि आवश्यक पहल भइरहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए ।पीडित मोक्तानलाई गत जनवरी ३० मा अस्पतालले डिस्चार्ज गरी घर पठाएको थियो । रोजगारीको सिलसिलामा चार वर्षअघि साइप्रस आएकी उनी दुई वर्षअघि पोर्चुगल आएकी हुन् ।