नेदरल्याण्ड्सलाई हराएपछि के भन्छन् कुशल र आशिफ

नेपालले नेदरल्याण्ड्सविरूद्ध सानदार जित हात पारेको छ।आइसिसी लिग-२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरूद्ध ९ विकेटको सनसनीपूर्ण जित निकालेको हो।त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई ३९ ओभरमा अल आउट गरेको थियो।

नेदरल्याण्ड्सलाई १३७ रनमा अल आउट गर्न कुशल भूर्तेलले चार विकेट लिए। ललित राजवंशीले २ विकेट लिँदा सोमपाल कामी र रोहित पौडेलले एक/एक विकेट लिए।ब्याटिङमा नेपालले सुरूवातदेखि नै आक्रामक खेल्दा १५.२ ओभरमै  लक्ष्य पूरा गरी नतिजा आफ्नो पक्षमा पारेको थियो।

आइसिसी एकदिवसीय र्‍यांकिङमा नेपाल १५ औं र नेदरल्याण्ड्स १४ औं नम्बरमा छ।पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो।जितपछि पत्रकारहरूसँगको कुराकानीमा कुशल भूर्तेलले नतिजाबाट अत्यन्त उत्साहित भएको बताए।‘वर्ल्ड कप खेलिरहेको टिमलाई राम्ररी जित्दा खुशी लागेको छ। परफर्मेन्स पनि ओभरल राम्रै भयो,’ उनले भने।

उनले आज ११ बल खेलेर २८ रनसैँगै पहिलो इनिङमा चार विकेट पनि लिएका थिए। यसबारेमा भूर्तेलले आफू विगत २ वर्षदेखि बलिङ सिकिरहेको बताए।‘२ वर्षदेखि बलिङ गरिरहेको थिएँ। एक्जिक्युट गर्न मात्रै बाँकी थियो। आजको दिन थियो त्यो एक्जिक्युट गर्ने,’ उनले भने, ‘पिच पनि स्पिनरका लागि राम्रो साबित भयो। कहिले ब्याटिङ गर्न पाउँदा कहिले बलिङ गर्न पाउँदा खुशी छु।’

टिमको छलफलमा पावरप्लेलाई भरपूर उपयोग गर्ने भन्ने निर्णयअनुसार त्यसरी खेलिएको उनले बताए।‘बलिङ लाइन एकदम राम्रो भएको थियो। हाम्रो योजना नै पावरप्लेमा डोमिनेट गर्ने,’ उनले भने, ‘मेरो सधैँ पहिलो बलबाटै हान्ने भन्ने हुन्छ।’आजको खेलमा आशिफ शेखले अर्धशतक हाने। उनले पनि सामान्य लक्ष्य भएकाले टिममा पावरप्लेलाई नै उपयोग गर्ने भन्ने छलफल भएको बताए।

नेदरल्याण्ड्सलाई सामान्य रनमा समेट्न सकेपछि टिममा पावरप्लेलाई नै उपयोग गर्ने भन्ने छलफल भएको उनले बताए।खेलमा टसले ठूलो भूमिका खेल्ने उनले बताए। ‘टसले ठूलो भूमिका राख्छ। बिहानको कन्डिसन च्यालेन्जिङ हुन्छ। हामीले टस जित्यौं भने फिल्डिङ नै गर्ने भन्ने योजना थियो। सोही अनुसार भयो र जित्यौं,’ उनले भने।

जसरी भएपनि टिमको प्रदर्शनमा योगदान गर्न आफ्नो जमर्को रहने उनले बताए।‘ब्याटिङले भएन भने विकेट किपिङले गर्ने। चान्स पाइनँ भने टिमलाई कसरी कन्ट्रिब्युट गर्न सक्छु, त्यसरी गर्छु,’ उनले भने। नेपालले नेदरल्याण्ड्ससँग १४ गते पुनः खेल्नेछ।

SHARE