मधेशको पहिलो सरकारी क्याथ ल्याबको उद्घाटन

 मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले संयुक्त रूपमा क्याथ ल्याबको उद्घाटन गर्नुभएको छ।शनिबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री सिंहले प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडित मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याबको उद्घाटन गर्नुभएको हो।

क्याथ ल्याबको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार विकासमा मधेश प्रदेशले फड्को मारेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वास्थ्यमन्त्री सिंहले मुटु रोगको विशिष्टिकृत उपचारका लागि थप विशेषज्ञ व्यवस्था गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशनसमेत दिनुभयो।उद्घाटनमा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. डा. अङ्कुर साहले क्याथ ल्याब सञ्चालनमा आएपछि मुटु रोगीहरूलाई उपचारका लागि बाहिर जानु नपर्ने बताउनुभयो। मधेश प्रदेशमा सरकारी स्तरको पहिलो क्याथ ल्याब सञ्चालनमा आएको हो।

SHARE