धादिङका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै आशिका तामाङ ले सामाजिक सञ्जालमार्फत दिएको ढुवानी शुल्कसम्बन्धी ‘निर्देशन’प्रति असन्तुष्टि जनाएका छन्।
धादिङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तामाङले मलेखु–ताल्ती सडकखण्डमा सवारी शुल्क नलिन निर्देशन दिएको भन्दै स्थानीय तहहरूले त्यसलाई आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।
भीमप्रसाद ढुंगाना को अध्यक्षतामा बसेको जनप्रतिनिधिहरूको बैठकले जिल्ला प्रशासन कार्यालय र सांसदबाट आएका यस्ता निर्देशनप्रति आपत्ति जनाउँदै संघीयताको मर्मअनुसार स्थानीय अधिकार सुनिश्चित गर्न माग गरेको हो।
विज्ञप्तिमा नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको स्थानीय तहको अधिकार कार्यान्वयनमा अवरोध देखिएको उल्लेख गर्दै तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्नुपर्नेमा जोड दिइएको छ।










