प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरिन्

काठमाडौँ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले शुक्रबार राति शपथ ग्रहण गरेकी छन्।

शीतल निवासमा राति करिब पौने १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराएका हुन्। शपथपछि राष्ट्रपति पौडेलले उनलाई बधाइ दिंदै मुलुक र जनताको हितमा सफलताका शुभकामना व्यक्त गरे।

“तपाईंलाई धेरै धेरै बधाइ। तपाईं सफल हुनुस्। देश सफल होस्। जनता बचून्,” राष्ट्रपति पौडेलले कार्कीलाई भने।

राष्ट्रपति पौडेलले शुक्रबार नै कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए। उनलाई आगामी ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित प्रधानमन्त्री बनाइएको हो।

यसअघि कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीशको रुपमा समेत रहिसकेकी थिइन्।

SHARE