पुरिएको पाटेबाघ निकालेर पोस्टमार्टम

 नवलपुरको मध्यविन्दु–१०, अरुणखोलाको जङ्गलमा मृत अवस्थामा भेटिएको बाघलाई पुनः खाल्डोबाट निकालेर पोस्टमार्टम गरिएको छ । करिब एक साताअघि मृत अवस्थामा भेटिएको बाघ सड्न थालेको भन्दै डिभिजन वन कार्यालयले शुक्रबार पोस्टमार्टम नगरी जङ्गलमा गाडेको थियो । सङ्कटापन्न दुर्लभ पाटेबाघ मरेको कारण पत्ता लगाउन छोडेर पोस्टमार्टम नगरी बाघ गाडेको भन्दै आलोचना भएको थियो ।

आलोचनापछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्देशनमा गाडेको बाघ निकालेर पोस्टमार्टम गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी प्राविधिक किरणबाबु रिजाल र चितवन राष्ट्रिय निकुञ्जका दिनेश ढकालसहितको टोलीले बाघको पोस्टमार्टम गरेको हो ।

पोस्टमार्टमपछि नमुना सङ्कलन गरेर प्राविधिक टोलीले लगेको सबडिभिजन वन कार्यालय, अरुणखोलाका अधिकृत अर्जुन सापकोटाले जानकारी दिनुभयो । पोस्टमार्टममा सहभागी कोषका भेटेरिनरी प्राविधिक रिजालले विषाक्त खानेकुराका कारण बाघ मरेको हुन सक्ने बताउनुभयो । उहाँले बाघको शरीरको बाहिरी भागमा चोटपटक, घाउ केही नदेखिएकाले जुधेर वा जालमा परेर बाघ मर्नुको अन्तिम कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्ट कुर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार पोस्टमार्टमको नमुना नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने छ । उहाँले बाघ सड्ने अवस्थामा पुगेकाले यकिन नतिजा आउने विषयमा आफूहरू पनि ढुक्क नभएको बताउनुभयो । उहाँका अनुसार विधि विज्ञान प्रयोगशालामा पठाएपछि नतिजा आउन कम्तीमा एक साता लाग्ने छ ।

 

SHARE