काठमाडौं । तामाङ चलचित्र ‘ङाला सेम्जो’ को पहिलो च्यारिटी शोपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि निर्माण पक्ष थप उत्साहित बनेको छ । चलचित्रको दोस्रो च्यारिटी शो आगामी असोज १० गते शनिबार भक्तपुरको राधेराधे भाटभटेनीस्थित क्यूएफएक्स हलमा बिहान ८ बजे हुने भएको छ ।
पहिलो च्यारिटी शोमा दर्शकको उपस्थितिसँगै चलचित्रले पाएको प्रतिक्रियाले आफूहरूलाई थप हौसला मिलेको निर्माण पक्षले जनाएको छ । चलचित्र निर्माण र प्रदर्शनको समय बदलिँदै जाँदा दर्शकको रुचि र प्रतिक्रिया दिने शैलीमा पनि परिवर्तन आएको उनीहरूको अनुभव छ ।
‘ङाला सेम्जो’ले तामाङ समुदायको पारिवारिक जीवन, प्रेम, सम्बन्ध र भावनालाई कथाको केन्द्रमा राखेको छ । विशेषगरी एउटा छोरीले आफू जन्मेको घर छाडेर नयाँ घरमा पुग्दासम्म भोग्ने परिस्थिति, बुबाआमाको व्यवहार र पारिवारिक सम्बन्धका विभिन्न आयामलाई चलचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ ।
निर्माण पक्षका अनुसार चलचित्रमा राजनीतिक विषयलाई प्राथमिकता दिइएको छैन । यो मूलतः पारिवारिक चलचित्र हो ।
चलचित्रमा प्रेमलाई केवल नायक–नायिकाबीचको सम्बन्धमा सीमित गरिएको छैन । आमाबुबाले सन्तानप्रति गर्ने माया, युवा पुस्ताबीचको प्रेम तथा बालबालिकाको भावनात्मक सम्बन्धलाई समेत कथामा समेटिएको छ ।
‘माया’लाई चलचित्रको एउटा महत्वपूर्ण भावका रूपमा प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ । त्यसैले चलचित्र हेर्दा विभिन्न उमेर समूहका दर्शकले आफ्नै जीवन र सम्बन्धसँग जोडिने विषय भेट्न सक्ने अपेक्षा गरिएको छ ।
चलचित्र निर्माणको यात्रालाई सहज भने मानिएको छैन । कलाकार व्यवस्थापनदेखि आर्थिक व्यवस्थापनसम्मका चुनौती सामना गर्दै चलचित्रलाई दर्शकमाझ पुर्याउनुपर्ने अवस्था रहेको निर्माण पक्ष बताउँछ ।
तामाङ समुदायभित्रै भाषा र उच्चारणमा भौगोलिक विविधता रहेकाले चलचित्र निर्माणमा थप चुनौती हुने उनीहरूको अनुभव छ । ठाउँअनुसार भाषाको लय र प्रयोग फरक भए पनि समुदायका मानिसबीच त्यसको भाव बुझिने भएकाले चलचित्रमार्फत भाषा, संस्कृति र समुदायको जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
निर्माण पक्षको भनाइमा चलचित्रबाट आर्थिक लाभ मात्र खोजिएको छैन । समुदायका लागि केही योगदान गर्न सकियोस् भन्ने उद्देश्य पनि उत्तिकै महत्वपूर्ण छ ।
‘धन–सम्पत्ति कमाउन सकिएला, तर आफूले गरेको कामबाट प्राप्त हुने खुसी छुट्टै हुन्छ,’ निर्माण पक्षको भनाइ छ, ‘मेरो लागि चलचित्र भनेको जीवन हो । अभिनय गरेर भए पनि समुदायलाई योगदान गर्न सकियोस् भन्ने चाहना हो ।’
तामाङ चलचित्रलाई माया गर्न आग्रह
निर्माण पक्षले ‘ङाला सेम्जो’ हेर्न तामाङ समुदायसँगै गैर–तामाङ दर्शकलाई पनि आग्रह गरेको छ ।
तामाङ भाषा, संस्कृति र पहिचान संरक्षणमा चलचित्रले पनि भूमिका खेल्न सक्ने भएकाले समुदायले आफ्ना चलचित्रलाई साथ दिनुपर्ने निर्माण पक्षको भनाइ छ ।
चलचित्र हेरेपछि दर्शकले मनोरञ्जनसँगै कुनै न कुनै सन्देश लिएर फर्किने अपेक्षा गरिएको छ । ‘चलचित्र बनाउँदा त्यसले दर्शकमा कस्तो प्रभाव पार्छ भन्ने विषय महत्वपूर्ण हुन्छ,’ निर्माण पक्ष भन्छ, ‘हामीले सकेसम्म दर्शकको मन छुने र केही न केही सन्देश दिने प्रयास गरेका छौं।’
पहिलो च्यारिटी शोपछि प्राप्त प्रतिक्रियाले निर्माण पक्षलाई थप उत्साहित बनाएको छ । अब भक्तपुरमा हुन लागेको दोस्रो च्यारिटी शोले चलचित्रलाई थप दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ ।
तामाङ चलचित्रको बजार विस्तार, भाषा–संस्कृति संरक्षण र नयाँ पुस्तालाई आफ्नै कथा हेर्न प्रेरित गर्ने उद्देश्यसहित ‘ङाला सेम्जो’ को च्यारिटी शो गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्र हेर्न चाहने दर्शकलाई असोज १० गते शनिबार बिहान ८ बजे भक्तपुर राधेराधे भाटभटेनीस्थित क्यूएफएक्स हलमा उपस्थित हुन निर्माण पक्षले आग्रह गरेको छ।









