आज गाई पूजा, गौमाताको आराधना र धार्मिक श्रद्धासाथ मनाइँदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज वैदिक सनातन परम्पराअनुसार गाई पूजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी दूध, गोबर र गहुँतका माध्यमबाट मानवलाई शक्ति प्रदान गर्ने विश्वास रहेकाले गौमाताका रूपमा पूजा गर्ने चलन रहेको छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ। गाईलाई मीठा परिकार खान दिएमा शुद्धता प्राप्त हुने धार्मिक विश्वास छ।

गाईलाई राष्ट्रिय जनावरका रूपमा सम्मान गरिन्छ र वैदिक कर्ममा गाईदानको विशेष विधि उल्लेख गरिएको छ। साथै, साउन शुक्ल पूर्णिमामा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् गाईले वैतरणी नदी तारिदिने विश्वास समेत छ।

SHARE