पाकिस्तानी व्यवसायीलाई मार्चमा हुने नेपाल चेम्बर एक्स्पो र लगानी सम्मेलनमा सहभागि हुन निम्तो

व्यवसायीलाई नेपालमा मार्चमा हुने नेपाल चेम्बर एक्स्पो र अप्रिलमा हुने लगानी सम्मेलनमा सहभागि हुनको लागि निम्तो दिइएको छ ।पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले शनिबार इस्लामावादस्थित सियालकोट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा पुगेर व्यवसायीसँग भेटवार्ता गर्दै नेपालमा हुने दुई कार्यक्रमहरुमा सहभागिता जनाउनको लागि आग्रह गरेका हुन् । साथै, उक्त अवशरमा राजदूत अधिकारीले व्यवासयीहरुसँग पनि अन्तरक्रिया गरे ।

नेपाली दूतावासका अनुसार राजदूत अधिकारीले सियालकोटलाई पाकिस्तानमा खेलकुदका सामान, सर्जिकल वस्तुहरू र भान्छाको कटलरी उत्पादनहरूको हबको रूपमा रहेकोमा प्रसंशा गरे । सियालकोटका उद्यमीहरूको सहभागिताले द्विपक्षीय व्यापारको नयाँ बाटो खोल्ने अधिकारीले बताए ।

उनले प्रवर्द्धन, लगानी र प्रविधि हस्तान्तरणमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको पनि प्रष्ट पारे ।सियालकोट नेपाली जनताको कडा परिश्रम, नवप्रवर्तन र उद्यमशीलताका कारण एउटा सानो सहरबाट विश्वव्यापी व्यापारिक केन्द्रमा उभिन सफल भएकोले यसलाई नेपाली जनताका लागि एउटा रोल मोडल हुनसक्ने बताए ।

नेपाल र पाकिस्तानबीच थप आर्थिक संलग्नता आवश्यक रहेको र नेपालका राजदूत अधिकारीले दुवै देशका लागि फाइदाजनक हुने गरि पाकिस्तानमा हुने व्यापारिक अवसरलाई सदुपयोग गर्न चाहेको उल्लेख गरे ।

‘नेपाल दक्षिण एसियाको पर्यटकीय हब भएको र नेपाल नजिक, अतिथि सत्कार गर्ने र पाकिस्तानी नागरिकका लागि सहज भिसा व्यवस्था भएकोले उनीहरूलाई व्यापारिक उद्देश्यका साथसाथै परिवार र साथीभाइलाई छुट्टी मनाउन नेपाल भ्रमण गर्न निमन्त्रणा पनि दिएको छु,’ राजदूत अधिकारीले भने ।

सियालकोट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष अब्दुल गफुर मलिकले नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गरे । उनले यो वर्ष आपसी सम्मान, गहिरो समझदारी र शान्ति र सामाजिक–आर्थिक प्रगतिको साझा दृष्टिकोणमा आधारित बलियो द्विपक्षीय सम्बन्धको ६४ वर्ष मनाउने बताए ।

SHARE