जसले क्रान्तिको नेतृत्त्व गर्छ, उसले नै शान्तिको महत्त्व बुझ्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी नेतृत्त्वले नै शान्तिको महत्त्वलाई गहिरोगरी बुझ्ने बताएका छन्।लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको रहेको बताए।

‘हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्त्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्त्व गर्ने अवसर प्राप्त गर्‍यौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसैले मैले भन्ने गरेको छु– जसले क्रान्तिको नेतृत्त्व गर्दछ, शान्तिको आवश्यकता र महत्त्व पनि त्यसले नै सबैभन्दा बढी बुझ्न सक्छ।’

प्रधानमन्त्री प्रचण्डले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताए।‘क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी नै हो ।आफू तेस्रोपटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्तरप्रदेश समन्वय परिषद्को बैठक गरी सङ्घीयता कार्यान्वयनमा गति दिइएको बताए।

SHARE