कर्णालीको पुलबाट हाम फालेका १७ जनामध्ये अझै १ युवक बेपत्ता

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् ।सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले शाहीको खोजी भइरहेको बताए ।उनका अनुसार सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हि‌ंडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारि नै रोक्न खोजेको थियो । तर सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीको भनाइ छ ।
‘उहाँहरूलाई डिउटीमा रहेको प्रहरीले रोक्न खोजेको रहेछ तर साथीभाइ धेरै दिनपछि भेटिएकाले पुलमा फोटो खिचेर फर्किन्छौं भनी जबरजस्ती गरी अघि बढ्नुभएछ’ डाँगीले  भने, ‘नदीमा हाम फाल्दाको अवस्थाबारे सूचना थिएन । हराइसकेपछि मात्र खबर आयो । तत्काल उद्धारको प्रयास गरिएको थियो तर सकिएन ।’घटनाको समयमा प्रहरी निरीक्षक डाँगी भने मोहन्याल गाउँपालिकामा थिए । उनी त्यहाँ युवक मृत भेटिएको घटनाको अनुसन्धानका लागि गएका थिए ।
SHARE