एनबीएससी सेमिफाइनलमा

विराटनगर — विराटनगरको एनबीएससी क्रिकेट क्लबले बिहीबार भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १ सय ३४ रनले पराजित गर्दै तेस्रो मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

बिहीबार विराटनगर जुट मिल मैदानमा पहिलो क्वाटरफाइनलमा टस जितेको विराटनगरले ८ विकेट गुमाई २ सय ३ रन जोड्यो । अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धशतकीय इनिङ्स खेले । अनुभवले ४१ बलमा ६ छक्का र ६ चौकासहित ६६ रन र राहुलले ३१ बलमा ५ छक्का र ६ चौकासहित ६० रन जोडे । राहुल प्लेयर अफ द म्याच घोषित भए । विराटनगरका कुनल किशोरले २९ र रिसव रञ्जनले २४ रन जोडे ।

जोगवनीका आशिक राजाले १९ रन खर्चेर ३ विकेट र उत्तम यादवले २ विकेट लिए । २ सय ३ रनको लक्ष्य पछ्याएको जोगवनी १३.३ ओभरमा ६९ रन अलआउट भयो । राजा बाबुले २४ र उत्तम यादवले १७ रनबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका आदित्य झा र राहुलले कसिलो बलिङ गरे । आदित्यले १३ रन र राहुलले १९ रन खर्चेर समान ४ विकेट लिए । शुक्रबार वाइआरएससी क्रिकेट क्लब विराटनगर र सुनसरी क्रिकेट क्बल तथा दिल्ली र कटियार क्रिकेट क्लबबीच खेल हुने तालिका छ ।

SHARE