३० औं तामाङ प्रसारण दिवस मनाइयो, दुई पत्रकार पुरस्कृत

काठमाडौँ — काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा शनिबार ३० औं तामाङ प्रसारण दिवस मनाइएको छ । यस अवसरमा तामाङ पत्रकार संघ, जिल्ला शाखाहरुले तामाङ समुदायका पत्रकारहरूलाई पुरस्कार वितरण गर्नुका साथै शुभकामना आदानप्रदान गरेका थिए ।

२०५१ साल भदौ १ मा रेडियो नेपालबाट तामाङ भाषामा समाचार प्रसारण भएको दिनको स्मरणमा हरेक वर्ष भदौ १ गते तामाङ पत्रकारहरुले प्रसारण दिवसको रुपमा मनाउने गर्छन् ।

दिवसको अवसरमा शनिबार तामाङ पत्रकार संघ संघीय कार्यसमितिले काठमाडौंको एयरपोर्ट होटलमा एक समारोह आयोजना गरेर , जहाँ लामो समयदेखि पत्रकारितामा सक्रिय नयाँ पत्रिका दैनिकमा कार्यरत राजु स्याङ्तान र नेपाल टेलिभिजनमा कार्यरत शान्ति वाइबालाई ‘तामाङ मिडिया अवार्ड’ प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले स्याङ्तान र वाइबालाई नगद पाँच पाँच हजार र सम्मान पत्रसहितको अवार्ड प्रदान गर्नुभएको हो । पत्रकारद्वय लामो देखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रमुख अतिथि लामाले इतिहासको सम्झना गर्दै सञ्चार तथा समुदायको थप विकासको बाटोमा अघि बढ्न आजको दिनले महत्वपूर्ण उर्जा प्रवाह गर्ने बताए ।

आफ्नो जीवन संघर्षको पाटो सुनाउँदै उहाँले निरन्तर प्रयास गर्दै अघि बढ्ने सफलता हाँसील हुने भन्दै भाषा,संस्कृति तथा समुदायको हितका लाग्ने पत्रकारहरुलाई हौसला समेत प्रदान गरेका थिए ।

कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विभिन्न खालका संघर्षबाट प्राप्त नयाँ संविधान प्रदत्त समानुपातिक,समावेशीताका विषय गलत ढंगबाट प्रयोग गर्दै नकारात्मक भाष्य निर्माण गर्न खोजेको जनाउँदै यसमा तामाङ मिडियाकर्मीहरुले सरकारलाई खबरदारी गर्ने गरी कलम चलाउन आवश्यक रहेको बताए ।

नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वलले तामाङ पत्रकार संघले गरेको रचनात्मक कार्यक्रमहरुप्रति खुसी व्यक्त गर्दै नेपाल टेलिभिजनले नयाँ संविधान कार्यन्वयनकै क्रममा विभिन्न भाषाभाषिका समुदायको भावना समेट्ने गरी कार्यक्रम र समाचार प्रसारण थालिएको जानकारी गराए ।

 

SHARE