बीपी राजमार्ग भोलिबाट खुल्ने

दुई दिनसम्मको अविरल वर्षाका कारण आएको बाढी–पहिरोले अवरूद्ध बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुक्रबारदेखि राजमार्ग सञ्चालन हुने बताएका हुन् ।

उनले बिहीबार दिउँसो भौतिक पूर्वधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग टेलिफोन वार्ता गरी जानकारी लिएको बताएका हुन्। सचिव शर्मा फिल्डमा खटिएका छन‍्।

‘उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोशी गाउँपालिका–९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बिपी राजमार्ग सञ्चालनमा आउने छ,’ उनले भनेका छन् ।

गत असोज १० र ११ गते आएको अविरल वर्षापछिको बाढी–पहिरोले विभिन्न ठाउँका सडकहरू अवरोध भएका थिए। अधिकांस राजमार्गहरू सञ्चालनमा आइसकेका छन्। बिपी राजमार्ग भने निर्माणकै चरणमा छ।

SHARE