रसुवाको बाढीमा जुम्लाका ५५ श्रमिक सम्पर्कविहीन

जुम्ला । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जुम्लाको पातारासी गाउँपालिकाका ५५ जना श्रमिक सम्पर्कविहीन भएका छन्। गाउँपालिकाका अनुसार रसुवामा काम गर्न गएका ७६ जनामध्ये ५५ जनासँग सम्पर्क हुन सकेको छैन।

सम्पर्कविहीनमध्ये अधिकांश रसुवाको हाँकु जेसी–२१६ नम्बर ड्याम साइटमा कार्यरत रहेको गाउँपालिकाले जनाएको छ। पातारासी–४ लाम्रीका १६, वडा नं. ५ माथिल्लो ल्होर्पका ११, तल्लो ल्होर्पका चार, वडा नं. ४ तिर्खुका १०, वडा नं. ६ बाताका १० तथा जम्न, तल्फी र अन्य गाउँका गरी ५५ जना सम्पर्कविहीन छन्।

गाउँपालिकाका अनुसार केही श्रमिक भने सम्पर्कमा आएका छन्। अभिभावकबाट प्राप्त सूचनाका आधारमा सम्पर्कविहीनको विवरण संकलन गरिएको हो।

श्रद्धेय आफन्तहरूले खोज तथा उद्धारका लागि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय जुम्ला र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले रसुवा जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो।

यस्तै, जुम्लाका सञ्चार उद्यमी तथा पर्यटन व्यवसायी भानु देवकोटासमेत सम्पर्कविहीन रहेको परिवारले जनाएको छ। प्रशासनले जिल्लाभरिबाट रसुवामा सम्पर्कविहीन भएका जुम्लावासीको विवरण संकलन गरिरहेको जनाएको छ।