टि २० आई सिरिजको पहिलो खेलमा नेपाल अमेरिकाविरुद्ध १७ रनले विजयी

अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपाल १७ रनले विजयी भएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको खेलमा नेपालले १७ रनको जित निकालेको हो ।
नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनमा समेटिएको हो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । त्यस्तै रिजन ढकाल र गुल्सन झाले समान १/१ विकेट लिए भने करण केसीले पनि समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर नेपालले १६४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट एक रनले चुके । उत्कृष्ट ओपनिङ गरेका अनिल साह र आसिफ शेखले समान २७/२७ रन बनाए । अनिलले १८ बलको सामना गर्दै १ छक्का र २ चौका हिर्काए भने आसिफले २७ बलमा ४ चौका हिर्काए । त्यस्तै नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २८ रन बनाए । उनले १७ बलको सामना गर्दै १ छक्का र २ चौका हिर्काए ।

अमेरिकाका लागि सौरभ नेत्रवाल्कर र हर्मित सिंहले समान २/२ विकेट लिए । जस्दिप सिंहले पनि समान २ विकेट हात पारे । त्यस्तै अलि खान र नोस्त्सु केन्जिगेले १/१ विकेट लिए ।

SHARE